कथा: सरको डर

‘चिनेनौ ? ऊ रवि क्या ।’

उसले मलाई शीरदेखि पाउसम्म बडो गहिरोगरी हेर्‍यो । मानौँ, म कुनै आफन्त हुँ । अथवा, त्यो आत्मीय हुँ, जो वर्षौंअघि बिछोडिएको थियो । परिचय गराइदिनेले पनि उस्तै उत्साहका साथ हामी दुईको नाम सुनाएको थियो । सुनाउनेको उत्साहयुक्त लवज र हेर्नेको अर्थपूर्ण हेराइसँग बेखबर रहन मलाई असहज भयो ।

‘अँ, एऽऽ, चिनेँ, चिनेँ !’ त्यो अन्योलबाट जसरी होस्, निक्लनु थियो, यत्ति भनेर निक्लिएँ । तर, चिनेको चाहिँ पटक्कै थिइनँ । उसको अनुहार एक पटक राम्रोगरी ननियालेको त हुँदै हैन, अहँ कहीँकतैबाट चिनेजस्तो लाग्दै लागेन । सोचेँ, त्यतिबेला थुप्रै थिए साथीभाइ । तिनैमध्येको कुनै एक हुनुपर्छ यो ।

सुकेपोखरी ! मैले चेतनाको पहिलो आँखा त्यहीँ खोलेको थिएँ । त्यहाँ जानुअघिका बाल्यकालीन स्मरण मेरो दिमागमा शून्यप्रायः छ । शून्य नहोस् पनि कसरी ! जहाँ जन्मिएको थिएँ, त्यहीँ भए-रहेको भए बाल्यकालीन घटनाहरू सम्झनामा आइरहन्थे होलान् । तँ यस्तो थिइस्, यसो गर्थिस्, यस्तो थ्यो, उस्तो हुन्थ्यो इत्यादि सम्झाउने प्रशस्तै हुन्थे होलान् । सारै मसिना कुरा नभए पनि अलिअलि चासोका कुरा दिमागमा ताजा भइराख्थे होलान् । पाँच वर्ष पुग्दानपुग्दै म त आमाले बाँधेको पोकोको पछिपछि पहाडबाट मधेसतिर झरेको थिएँ । त्यहाँ मेरो बाल्यकाल सम्झाउने कोही थिएनन् । बुबा बित्दा अढाई-तीन वर्षको हुँदो हुँ । अनुहार अलिअलि याद हुनुपथ्र्यो होला, त्योसमेत बाँकी रहेन । यसरी जन्मभूमि सिन्धुली भए पनि सुकेपोखरी मेरो जिन्दगीको सुरुवात बन्न पुग्यो ।

आमाले सुकेपोखरी स्कुलमुनि बालगङ्गा लुइँटेलटोलमा सानु घर किन्नुभयो । आमा किन त्यहाँ जानुभयो ? किन हाम्रो आधी परिवार सिन्धुलीमै रहृयो ? अभावका खाका कस्ताकस्ता थिए ? आमालाई कुन दुःखले त्यता लखेट्यो ? त्यसबखत त्यो मेरो समझको कुरा थिएन । अहिले पनि सिर्फ अन्दाज गर्न सक्छु । नयाँ परिवेश, नयाँ जीवनशैली, नयाँनयाँ सङ्घर्ष, जे होस् आमा बदलिनुभएको हुनुपर्छ । बुबा बित्नुभएपछि हामीमात्र होइन, आमा स्वयम् टुहुरी हुनुभएको थियो ।

बुबालाई बचाउन खोज्दाखोज्दै अधिकांश जग्गाजिमी पनि रित्तिएको थियो । ससाना बालबच्चाको लालनपालन र पढाइ, कमाइ ल्याउने शीरको श्रीमान्रहित जिन्दगी, युवावस्थामै भोग्नुपरेको कहालीलाग्दो वैधव्य । केके मात्रको बोझ थिएन होला आमाको हृदयमा !

सिन्धुलीको त्यो पीडायुक्त हृयाङओभरबाट मुक्त हुन चाहनुहुन्थ्यो सायद उहाँ । सुकेपोखरीमा हामी जति रहृयौँ, आमाको अँध्यारो अनुहार मलाई याद छैन । त्यहाँबाट सिन्धुली फर्केपछि आमा प्रशस्तै रुनुभएको देखेको छु । त्यसो त आमा साहसी हुनुहुन्थ्यो, हत्तपत्त रुनुहुन्नथ्यो । समस्यालाई ‘काम’ र ‘जिम्मेवारी’ ठान्ने अनि सकेजति बुद्धि लगाएर धैर्य र कुशलतापूर्वक त्यसलाई निर्वाह गर्ने स्वभाव मैले आमाबाटै लिएको हुँ । अरूले नोटिस गर्छन् कि गर्दैनन्, थाहा छैन, तर यसलाई मैले आफूभित्रको ‘विशेष गुण’ ठान्ने गरेको छु ।

अँ, प्रबोध दाजु र म सुकेपोखरी स्कुलमा भर्ना भयौँ । यो कुरा क्याम्पस बन्नुअघिकै हो, अर्थात् ०३९ तिरकै । त्यतिबेला सुकेपोखरी स्कुल ‘चतुर्भुजेश्वर जनता मा.वि.’ मात्रै थियो । त्यतिबेला ‘सुकेपोखरी स्कुल’ भनेपछि पुग्थ्यो, राम्रै स्कुल भनेर चिनिथ्यो । म एक कक्षामा, दाजु आठ-नौ कतिमा हो ! तीन कक्षासम्म मैले खुरुखुरु पढेँ । दाजुले एसएलसी दिनुभयो, तर पास हुनुभएन । एक्जाम्टेड दिन पाउनुहुन्थ्यो, दिनुभएन । छाडेर हिँडिदिनुभयो सिन्धुलीतिर । बालगङ्गामा आमा र ममात्र भयौँ ।

मेरो भने चार कक्षाको पढाइ सुरु भयो । स्कुलमा केही पुराना शिक्षक हुनुहुन्थ्यो, जसले मलाई ‘उमानाथ गुरुको छोरो पो रै’छौ है !’ भनेर ढाप मार्नुहुन्थ्यो । कुन्नि कहिले हो, बुबाले केही समय पढाउनुभएको थियो अरे त्यहाँ । ‘यस्तरी पढाउनुहुन्थ्यो कि उहाँले पढाएको पाठ दोहोर्याएर हेर्नै पर्दैनथ्यो, मुखाग्र भइसक्थ्यो,’ भन्नुहुन्थ्यो उहाँहरू । मैले ‘बुबाको नामः उमानाथ शास्त्री सिन्धुलीय’ त थुप्रै पटक लेखिसकेको थिएँ होला । तर, एउटा विद्वान् पिताको पुत्र रहेछु भन्ने महसुस पहिलो पटक गर्न पाएको थिएँ जिन्दगीमा ।

गाउँमा मिल्ने साथीहरूको कमी थिएन, कुमार, छवि, सार्के, हेमा, मोती, ……. । स्कुलमा भने दनुवारीको सन्तोष र नयाँरोडको हरि मसँग खूबै मिल्थे । हरि त्यतिबेलै गुन्डा टाइपको थियो, सबलाई गोद्थ्यो, मलाई भने उल्टै जोगाउँथ्यो ।

त्यस दिन हेमा, म र सार्के स्कुल जान हिँड्यौँ । अङ्ग्रेजी पुरुषोत्तम (थापा सायद) सरले पढाउनुहुन्थ्यो । उहाँ कुखुरो बनाउन र सिर्कनाले सुम्ल्याउन वस्तादै हुनुहुन्थ्यो । म परेको थिइनँ, तर साथीहरूलाई सुम्ल्याएको प्रत्यक्षदर्शी थिएँ । त्यसमाथि चार कक्षामा पुगेपछि पहिलो चोटि अङ्ग्रेजी किताबको फेला परिएको थियो । पढाउन सक्ने दाजु पनि हिँडिहाल्नुभयो । आमाले भेउ पाउनुहुन्थेन । मेरो होमवर्क ज्यूँका त्यूँ रहन्थ्यो ।

एक दिन गाउँबाट निस्कनासाथ हेमालाई सोधेँ, उनले पनि गरेकी रहिनछिन् । सार्केले त झन् होमवर्क सारेको समेत रहेनछ । ‘आज पुरुषोत्तम सरले सुम्ल्याउँछन् ! दिनभरि कुखुरो बनाउँछन् ।’ सम्झेर मेरो सात्तोपुत्लो उड्यो । सरले कुटेको चाल पाउनुभयो भने आमाले झन् थप्नुहुन्छ । त्यो सम्झेपछि त म झनै डराएँ । सार्केले बुद्धि लगायो, ‘आज हामी तीनै जना स्कुल नजाऊँ ! भोलि जे पर्ला, हेरौँला ।’

‘धत्, त्यस्तो त झन् गर्नै हुन्न… !’ भन्दै थिएँ, उसले उकास्यो, ‘आऽ एक दिन नपढेर क्यै हुन्न !’

अनि, हामी स्कुलबाट भाग्नेमा पुग्यौँ । हेमा पहिले त भाग्नेमै थिइन्, पछि मन बदलिन्, ‘आऽ कुटाइ खाइए नि खाइयोस्, म त स्कुलै जान्छु !’ हामी आफ्ना किताब हेमालाई नै थमाएर लाग्यौँ हरिऔनतिर । त्यस दिन हरिऔनमा बजार लागेको थियो । दिनभर फन्फन्ती बजार घुमेर स्कुल छुट्टी हुने बेलातिर हामी त्यहाँबाट हिँड्यौँ । सार्केले मलाई तानेर लोकल बसमा हुल्यो । छिर्न के पाएका थियौँ, पछाडिबाट खलाँसीले तानिहाल्यो । अनि, सडकको किनारतिर मुन्ट्याइदियो ।

‘पख् पख् ! नआत्ती !’ कालो अनुहार पारेर उभिएको थिएँ, सार्केले मलाई सान्त्वना दियो ।

त्यसपछि बस हिँड्यो । बसले अर्को गियर लगाउनै भ्याएको थिएन, सार्के चिच्यायो, ‘दौडी !!’ मैले कुरो बुझ्दासम्म ऊ बसको पछाडिको डन्डी समात्न पुगिसकेको थियो । म भएभरको बल लगाएर बसको पछिपछि दौडिएँ । तर, अहँ, बसलाई भेट्न सकिनँ । सार्के गयो, पछाडि झुन्डिएर । म लुरुलुरु सुकेपोखरीतिर लागेँ ।

बसमा चढ्न पाएको भए स्कुल छुट्ने बेलामा स्कुलमा पुगिन्थ्यो होला, निकै ढिलो गरी घर पुगेँ । म पुग्नुअघि नै स्कुलबाट भागेको खबर घरमा पुगिसकेछ । सार्के र मेरो दुवैको किताब मेरो घरको पिँढीमा सुटुक्क छाडेर हेमा सुइँकुच्चा ठोकिसकिछन् ।

भित्र छिर्न नपाई आमाले च्याप्प समात्नुभयो, ‘भन् त ! काँ गएको थिइस् ?’

मैले के भन्नु ! रुन थालेँ । म रोएको देखेर होला, आमाले गाली गर्नुभएन, पिट्नु पनि भएन । उल्टै समातेर छातीमा च्याप्नुभयो, उल्टै आँसु पुछिदिनुभयो । अनि, सुस्तरी सोध्नुभयो, ‘तँ पनि त्यो गाडीमा थिस् ?’

‘गाडीमा ?’ म झस्किएँ । स्कुल नगएको, भागेको सम्म त हेमाले भनी होला, आमाले कसरी थाहा पाउनुभयो हामी गाडीमा झुन्डिन खोजेको ? पक्कै सार्केले कुरा लायो जस्तो छ ! साले ! आफू उकासेर लान्छ, आफैँ मलाई छाडेर हिँड्छ अनि उल्टै कुरा लाउँछ ! पख्लास् !

‘…त्यो बाँच्दैन होला…… !’ आमाले खुइय गर्नुभयो ।

‘को आमा ??’ म अचम्मित भएँ ।

‘को हुनु नि ! सार्के !! बिचरा बसबाट खसेछ । तँसँग गाथ्यो रे हैन ? अनि, तँ नि थिस् हैन गाडीमा झुन्डिने ? सार्के खसेको था पाइनस् ?’

सुकेपोखरीछेउको काठको पुलको जोल्टिङमा सार्के खसेछ । उसका छातीका करङ भाँचिएछन् । टाउको फुटेछ, अनुहारै नचिनिने भएछ । रक्तमुछेल अवस्थामा चतुर्भुजेश्वर मठको कुनै जोगीले हरिऔनको अस्पतालमा पुर्‍याएछन् । त्यहाँ नबाँच्ने भएर कुन्नि कता पो हो, लगिसकेछन् ।

मेरो होस हवासै उड्यो । अनुहार बिगि्रएर कच्याक कुचुक भयो । अघिको रुवाइ अर्कै थियो, भक्कानिएँ । सार्केको यस्तो माया लाग्यो कि सासै अडि्कएलाजस्तो भयो । आँखाबाट आँसु बर्साउँदै भनेँ, ‘आमा ! कुट्नु न मलाई !’

‘के कुट्नु ! धन्न बचेर आइस् ! तेरो साथी पो मर्ने भो !’

निकै दिनसम्म मन भरङ्ग भइराख्यो । उसको के हाल छ ? कसैसँग सोध्ने हिम्मत पनि भएन ।

पूर्वपश्चिम पसारिएको सीधा डगर । पल्लो छेउमा उसको घर, वल्लो छेउमा मेरो घर । म डगरमा निस्कनसमेत डराउन थालेँ । आङ सिरिङ्ग, सिरिङ्ग भइरहन्थ्यो । कति दिन त राति पनि चिच्याएछु । आमाले ‘थप्थप्याएर सुताएँ,’ भन्नुहुन्थ्यो, मलाई भने पत्तो हुन्थेन ।

स्कुल जान्थेँ, आउँथेँ । साथीभाइसँग पनि राम्ररी बोलिनँ । किन नबोलेको भनेर कसैले सोद्धा पनि सोधेनन् । मास्टरले कुट्लान् भन्ने डर पनि हरायो । ‘कुटे कुटुन्’ भन्ठानिरहेँ, तर कसैले कुट्दा पनि कुटेनन् । नजिकैको मावलीतिर पनि जाँदै गइनँ ।

चार-पाँच महिना यस्तैयस्तैमा बित्यो । एक दिन सुनेँ, सार्के घर फर्कियो रे !

त्यसपछि म झनै डराएँ । कस्तो भेट्न मन लाग्यो तर आँटै आएन । कसरी भेट्ने उसलाई ? के भन्ने ? मैले रोकेको भए हुन्थ्यो ! ‘स्कुलै जाऊँ’ भनेको भए उसले मेरो कुरा टार्ने थिएन, एक्लै भाग्ने थिएन । ‘सरले कुटे सहूँला,’ भन्नुपथ्र्यो । लौ, भागिहालियो रे ! बसबाट मुन्ट्याइएपछि ‘हिँडेरै जाऊँ’ भन्नुपथ्र्यो । कत्ति नै टाढा थियो र सुकेपोखरी ! मैले गर्नुपर्ने केही गरिनँ । मैले त्यसो गरेको भए मेरो साथी बसबाट खस्दैनथ्यो । मर्नु न बाँच्नु हुँदैनथ्यो । म दोषी हुँ ! म अपराधी हुँ ! मेरै कारण मेरो प्यारो साथीले त्यो दुर्गति भोग्नुपर्यो । म के भनेर उसलाई मुख देखाऊँ !

धेरैले आस मारिसकेका थिए रे, सार्के बाँचेर फर्कियो । तर, उसको वाक्य बन्द भएछ । अनुहारभरि खतै खत छन् रे । आवाज पूरै हराएको छ रे । यस्ता खबर मेरो कानसम्म आउँथे र मेरो मनलाई झन् भयभित तुल्याइरहन्थे ।

निकै दिनपछि ऊ सकी नसकी घरबाट डगरमा निस्कियो । मैले डगरको वल्लो छेउबाटै डराईडराई ऊतिर हेरेँ । उसले बडो सुस्त तरिकाले मलाई आफूतिर डाक्यो । म आत्तिएँ । हतारहतार भागेर घरभित्र छिरेँ । सीधै ओछ्यानमा उक्लिएँ र सिरोकले मुन्टो छोपेर निसास्सिउन्जेल बसिरहेँ ।

धन्न आमाले देख्नुभएन । साँझ पर्न लागेपछि सुस्तरी डगरमा निस्किएँ र फेरि उसको घरतर्फ हेरेँ । डगर सुनसान रहेछ ।

खै, केके भयो । जिन्दगीको विन्यास कहाँकहाँ मिलेन कुन्नि ! आमाले सिन्धुली र्फकने निधो गर्नुभयो । आमाले आˆनै छोराजस्तै गर्नुहुन्थ्यो तोरणहरि अधिकारी दाइलाई । उहाँलाई घर, बारी सुम्पेर हामी हिँड्यौँ त्यहाँबाट । मैले रोपेको बडहरको बिरुवा हलक्क बढेर ठूलो भएको थियो अरे । बाटो बढाउँदा काटिदिएछन्, भाउजू चित्त दुखाउँदै हुनुहुन्थ्यो पछिसम्म ।

त्यहाँबाट हिँड्ने बेलामा मैले भएजति साथीभाइलाई पालैपालो भेटेँ । हरि र सन्तोषको त घरमै पुगेँ । तर, सार्केलाई भेट्ने हिम्मत गर्नै सकिनँ ।

हामी फर्किंदा ०४१ सालको बाढीले लछार्नु लछारेर सिन्धुली उराठलाग्दो भइसकेछ । परिवेश बदलिएर होला, पि्रय साथीको त्यो दुर्घटनाको तुष मेरो मनमा बिस्तारै धुमिल हुँदै गयो । आमा हुन्जेल त्यता गइरहनुहुन्थ्यो । मलाई पनि असाध्यै जान मन लाग्थ्यो । तर, आमाको पछि लाग्ने हिम्मत गर्नै सकिनँ । सुकेपोखरी सम्झेपछि सार्केको अनुहार झल्झली अगाडि आउँथ्यो । सबैभन्दा धेरै त ऊ सकी नसकी डगरको पल्लो छेउमा उभिएर मलाई बोलाइराखेको याद आउँथ्यो । अनि, म एकदमै बिचलित हुन्थेँ ।

सात कक्षामा पढ्दै गर्दा आमा पनि बित्नुभयो । त्यसपछि जेनतेन एस.एल.सी. सकेर म काठमाडौँतिर हान्निएँ । घर, मावली जाँदा बालगङ्गातिर पस्थेँ, तर सार्केलाई खोज्ने साहस गर्न सकिनँ । कस्तो भयो होला ? पछि बोली आयो कि आएन ? स्वस्थ भयो कि रोगी नै छ ? त्यताका साथीभाइसँग बारम्बार भेट भइराख्छ । अस्ति, ललितासँग भेट भएको थियो, बाटोमै । सोध्न मन लागेको थियो, तर बोली घाँटीमै अडि्कयो ।

त्यो मान्छे, जसलाई भेट्ने हिम्मत मैले अझै गर्न सकेको छैन । यहीँ, काठमाडौँमै एक दिन मेरो अगाडि उभिएको रहेछ । चिन्नेले ‘सार्के’ भनेर चिनाइदिएन । मैले ‘रवि’ भन्दा चिन्न सकिनँ ।

ओहो !

साभार : अनलाईन खबर