सुन काण्डका अाराेपित लाेहनी साधारण तारेखमा रिहा

बिराटनगर, २९ भदाै ।
सुन काण्डमा तानिएका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छोड्न उच्च अदालतले अादेश दिएको छ ।

न्यायाधीश नागेन्द्रलाभ कर्ण र शारङ्गा सुवेदीको संयुक्त इजलासले मोरङ जिल्ला अदालतकाे आदेश उल्ट्याउँदै लोहनीलार्इ थुनामुक्त गर्ने अादेश दिएको छ । एसएसपी लाेहनीले गएकाे असार ७ गते थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । त्यसै अनुरूप उच्च अदालतले शुक्रबार लाेहनीलार्इ छाड्न अादेश दिएकाे हाे ।

उनी तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख थिए । प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह-सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो ।

लाेहनी वैशाख १९ गते पक्राउ परेका थिए । सुन काण्डमा उनी सहित महाशाखाका डिएसपी प्रजित केसी र सर्इ बालकृष्ण सञ्जेलले सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको अारोप छ ।

प्रकरणमा लोहनीसहित पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय केसी, सञ्जय राउत, सई सन्जेल, जवान विष्णुबहादुर खड्कासहित ६३ जनालार्इ प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता छ । उनलार्इ फागुन ९ गते नेपाल भित्रिएको भनिएको ३३ किलो सुन काण्डमा संलग्न पार्इएकाे छ ।