अष्ट्रेलियन एजुुकेशन फेयर’ भदौ ८ र ९ गते हुने

काठमाडाैँ, ६ भदाै ।
अष्ट्रेलिया अध्ययन गर्न जाने सोँचमा रहनु भएका विद्यार्थीहरूको हितलाई मध्यनजगर गर्दै अष्ट्रेलियामा रहेका शैक्षिक परामर्श केन्द्रहरूको साझा छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स ( एका )ले अगष्ट २४ र २५ (२०७५ भाद्र ८ र ९ गते ) तारिखमा दोस्रो अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

होटल अन्नपूर्णमा आयोजना हुने शैक्षिक मेलामा अष्ट्रेलियाका सात वटा कलेज तथा २२ वटा शैक्षिक परामर्शदाताहरूको प्रत्यक्ष सहभागिता रहने पनि प्रेस विज्ञप्ति मार्फत् जनाइएको छ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको शैक्षिक मेलामा एचआइबीटी कलेज फेयर पार्टनरको रुपमा रहेको छ भने किङ्सफोर्ड इन्टरनेशनल इन्स्यूच्यूट प्लाटेनियम पार्टनरको रुपमा रहेको छ । त्यसैगरी फेयरमा भाइब कलेज, किङ्स वन इन्स्यूच्यूट, एआइए कलेज, क्युआइबिए कलेज, एसएसबिटीको प्रत्यक्ष सहभागिता रहनेछ ।

दुई दिनसम्म चल्ने शैक्षिक मेलामा अष्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी तथा अभिभावकको जिम्मेवारी, पढाइ खर्च र पढ्ने विषय, कलेज तथा विश्वविद्यालयका बारेमा विशेष जानकारी उपलब्ध गराइनेछ ।

मेलामा २२ वटा शैक्षिक परामर्शदाताहरूको सहभागिता सहित ३० स्टल रहनेछन् ।

राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने दोश्रो अष्ट्रेलियन एजुकेशन फेयर २०१८ ले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहेका विद्यार्थी र अविभावकहरूका लागि फलदायी हुने आयोजकले जनाएको छ ।