निर्माणाधीन किरात राई सङ्ग्रहालयलाई दुई लाख सहयोग

काठमाडौं, ६ साउन ।
खोटाङको ऐंसेलुखर्कस्थित रिब्जुङमा निर्माणाधीन किरात राई सङ्ग्रहालयलाई किरातीम्मा गायन समुहले रु. दुई लाख नगद सहयोग गरेका छन् । कोटेश्वरस्थित किरात राई यायोक्खाको कार्यालयमा शनिबार आयोजित कार्यक्रममा निर्माण समितिका संयोजक खुक्सङ खम्बुलाई किरातीम्मा गायीकाहरुले नगद रु. दुई लाख हस्तान्तरण गरेका हुन् ।

किरातीम्मा गायन समुहमा पार्वती राई, सरला राई, सत्यकला राई, कला राई, राधा राई, मेनुका राई, बेनुका राई, जानुका राई, निलम रोजु राई, तायाहाङमा राई, ममता राई आवद्ध छन् ।

कार्यक्रममा गायीकाहरु पार्वती राई, सरला राई र सत्यकला राईले किरातीम्मा गायन समुहको तर्फबाट सङ्ग्रहालय निर्माण कार्यलाई सहयोग गर्न पाउँदा गर्व लागेको बताए । उनीहरुले किरात राई सङ्ग्रहालय स्थापना एक ऐतिहासिक कार्य भएको बताएका छन् ।

साहित्यकार भूपाल राई, कार्यवाहक अध्यक्ष दिवस राई र उपमहासचिव जनक राईले राई जातिको सङ्ग्रहालय निर्माण हुनु अत्यन्तै सह्रानीय कामको सुरुवात भएको बताए । उनीहरुले निर्माण कार्य सम्पन्न नभइन्जेल पूर्ण साथ, सहयोग रहने वचनवद्धता व्यक्त गर्दै निर्माण समितिलाई शुभकामना दिएका छन् ।

सङ्ग्रहालय निर्माण कार्यमा आर्थिक अभाव भइरहेको बेलामा किरातीम्माका चेलीहरुको सहयोग टुहुरो माइतिलाई उहिले तायामा, खियामा/जाउमा, ख्लिउमा दिदी बैनीले अनेक दुःख, कष्ट खेप्दै अनिकालमा भाई हेत्छाकुप्पा/रैछाकुले/ख्वाक्चिलिकलाई जङ्गलबाट फलफूल, कन्दमुल ल्याएर ख्वाए जस्तो भएको बताउँदै संयोजक खुक्सङ खम्बु भावुक भएका थिए ।

कार्यक्रममा किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राई, वरिष्ठ साहित्यकार भूपाल राई, किरात राई प्रज्ञा परिषद्का सदस्य सचिव डा. तारामणि राई, किराया उपमहासचिव जनक राई, केन्द्रीय सदस्यद्वय सुमन राई र मन्जु सोताङ राई, किरात राई विध्यार्थी संघका पूर्व अध्यक्ष भोगिराज राईको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । सन्ताेष रार्इ