चिया बेचेरै क्यान्सर पीडितलाई तीन लाख

काठमाडाैँ, २५ माघ ।
चरिकोटस्थित सातदोबाटो चोकमा बिहान–बेलुकी बालबालिका हातमा कित्ली बोकेर स्थानीयलाई चिया खुवाउथे ।

मट्टीतेलको स्टोभमा पाकेको चिया प्लास्टिकको गिलासमा हालेर दिन थालेपछि स्थानीय के रहेछ भन्दै नजिक गएर बुझ्न खोज्थे ।

बालबालिकाले विद्यार्थी साथी मदन केसीलाई ब्लड क्यान्सर भएकाले उनको उपचारमा सहयोग जुटाउन चिया बेच्न थालेको भनेर जानकारी दिन्थे ।

स्थानीय गौरीशंकर बोर्डिङ स्कुलका ५, ६ र ७ कक्षा पढ्ने विद्यार्थीले ब्लड क्यान्सर साथीको उपचारमा सहयोग गर्न थालेको अभियानलाई स्थानीयले साथ दिए ।

उनीहरू चिया पिउँथे र इच्छाअनुसारको रकम बक्सामा खसालेर जान्थे ।

त्यसरी चियाबेच्दा माघ १७ देखि २३ गतेसम्मको अवधिमा ३ लाख १२ हजार रकम संकलन भयो ।, आजको कान्तिपुरमा खबर छ ।