तिमी श्रीमती र वुहारी मात्र होइन

सर्जक : माेहराज शर्मा

कसैको संघार नाघेर जाँदा
तिमी
श्रीमती मात्र भएर नछिर मझेरी
वुर्हातन मात्रै चार किल्ला होइन अव
भान्सा वाहिरको सन्सार पनि
तिम्रो आगमनमा
उचालिएको पयर पर्खिरहेछ ।।

घरलाइ घर जस्तै वनाउन
मान्छेलाइ मान्छे जस्तै वनाउन
समय सभ्यताले
सिकाएका पाठ नविर्स ।
कसैको स्वार्थले खडा गरेका
चोकका मन्दिर र ठडाइएका शिवलिंगहरु
नपुज्दा केहि फरक पर्दैन
तर नविर्स आफनो आस्थाको भगवान ।।

घर घर जस्तै वनाउने र
घर जंगल जस्तै वनाउने
तिम्रो जिम्मा हो
त्यसैले कसैको संघार नाघेर भित्रिदा
समय चक्रले आफै वदल्दिने
तिम्रो स्वरुप र भुमिकाको
त्यही निरन्तरता र त्यही शैलीमा
नछिर कसैको मझेरी ।
ननाँघ कसैको संघार ।।

अव तिम्रो उर्जाको विस्फोट हुने वेला हो
गल्लिहरु चक्लाएर सभ्यताको
त्यही रथ गुडाउनु छ जिन्दगीको ।
हो तिमी श्रीमति हो ।
तिमी वुहारी हो,
फेरी तिमी सरस्वति लक्ष्मि र दुर्गा पनि त हो ।

तिमी आफैमा वगैंचा हो
आफुलाइ गमलाको गुलाव नसंझ
तिमी आफैमा जुन हो ।
आफुलाइ जुनकिरी नसंझ
त्यसैले कसैको संघार नाघेर जाँदा
विर्सेर हिजोका विरुप तस्विरहरु
उज्यालो भोलि वोकेर छिर ।

तिमी श्रीमती मात्र होइन
तिमी वुहारी मात्र होइन
तिमी आमा पनि हौ ।
आमा श्रृष्टि हो,सन्सार हो ।
त्यसैले तिमी सुन्दर सन्सार वोकेर छिर ।।