नेपाल–भारत सम्बन्धमा जोड

काठमाडौँ, ९ माघ ।
खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले भारतसँगको सदियौँदेखि रहँदै आएको नेपालको असल छिमेकीको सम्बन्धमा कुनै फेरबदल हुने सम्भावना आफूले नदेखेको बताउनुभएको छ ।

उहाँले भारतसँगको सम्बन्ध अतिविशिष्ट रहेको विज्ञान, प्रविधि तथा हरेक दृष्टिबाट समृद्धिको उचाइमा रहेको उसँगको प्रगतिबाट नेपालले लाभ लिनुपर्ने विचार प्रकट गर्नुभयो ।

मन्त्री यादवले नेपाल–भारत सम्बन्ध रोटीबेटीको रहेको र यसलाई जनस्तरमा विकास गर्नुपर्ने उल्लेख गर्दै यसलाई थप प्रगाढ पार्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का नेता राजन भट्टराईले संविधानमा व्यवस्था भएअनुसारको संघीय तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भई संविधान पूर्ण कार्यान्वयनतर्फ गई राजनीतिक स्थायित्वतर्फ अघि बढिसकेको अहिलेको स्थितिमा देशमा सुशासन, समृद्धि तथा उन्नतिका लागि नयाँ सरकारको ध्यान केन्द्रित हुने बताउनुभयो ।

उहाँले एमालेको वैदेशिक नीति नेपाल देश र जनताको हितमा ध्यान केन्द्रित रहने, कोहीससँग वैरभाव राख्नु हुँदैन भन्ने एमालेको मान्यता रहेको चर्चा गर्नुभयो । संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्तका आधारमा पारस्परिक हित र लाभ प्राप्तिका लागि सरकार अघि बढ्ने उल्लेख गर्नुभयो ।

उहाँले माघ ६ मा एमाले नेता ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन वार्तामा एकअर्काको स्वास्थ्य स्थिति, ओलीको नेतृत्वमा बन्न लागेको बाम सरकारको सफलताको शुभकामना, शीर्ष तहको भ्रमणको आदान–प्रदानको निम्तो विषयमा छलफल भएको जानकारी दिनुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले मानव इतिहासको शुरुवातदेखि नै नेपाल–भारतबीच प्रगाढ सम्बन्ध रहँदै आएको बताउँदै अन्य मुलुकभन्दा भारतसँगको सम्बन्ध वैवाहिक तथा पारिवारिक सम्बन्ध रहेकाले विशिष्ट रहेको बताउनुभयो । उहाँले ठूला राजनीतिक दलले भारतसँगको सम्बन्धलाई आफ्नो अनुकूल बनाउने प्रयास गर्नुभन्दा पनि जनस्तरमा विकास गर्नुपर्ने औँल्याउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले नेपाल–भारतबीचको सम्बन्ध संयुक्त राष्ट्रसंघको बडापत्र तथा पञ्चशीलको सिद्धान्तलाई आधार मानी अब बन्ने बाम गठबन्धनको सरकारले चीन र भारतबीचको सम्बन्धलाई सन्तुलित बनाउने बताउनुभयो ।

उहाँले सन् १९५० को नेपाल–भारत बीचको शान्ति सन्धि नेपालको हितमा नभएको चर्चा गर्दै कोशी र गण्डक सम्झौताले नेपाल पक्षलाई नमीठा घाउ लगाइएको बिर्सन नहुने बताउनुभयो । उहाँले नयाँ सरकारले चीन र भारतसँग सुसम्बन्ध राख्दै लगानीमैत्री सम्बन्धका आधारमा विकास गर्ने उल्लेख गर्नुभयो । रासस