सशस्त्र प्रहरीलाई वन्यजन्तु संरक्षणसम्बन्धी तालिम

काठमाडौँ, २ माघ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा ‘वन्यजन्तु संरक्षण र अपराध रोकथाम तथा नियन्त्रण’ बिषयक तालिम आजबाट शुरु भयो ।

तालिमको उद्घाटन गर्दै राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक केशरीराज पण्डितले वन्यजन्तु संरक्षण राष्ट्रिय महत्वको विषय भएको र यसले मानवीय जीवनमा प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो ।

वन्यजन्तु संरक्षण तथा वन्यजन्तु अपराध रोकथाममा सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसनीय रहेको उल्लेख गर्दै तालिमपश्चात वन्यजन्तु संरक्षण र चोरी निकासी नियन्त्रणसम्बन्धी न्यायिक व्यवस्थाबारे ज्ञान हासिल भई कार्यसम्पादनमा दक्षता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले वन्यजन्तु संरक्षणले पर्यावरणीय सन्तुलनमा सहयोग पु¥याउने चर्चा गर्दै वन्यजन्तुलगायत वन पैदावारको संरक्षणमा सरोकारवाला सम्पूर्ण निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्षेत्रमा जिम्मेवारी निर्वाहको क्रममा आइपर्ने वन्यजन्तु संरक्षणसम्बन्धी कार्यमा रहेका द्विविधालाई हटाई उत्कृष्ट कार्यसम्पादन गर्न प्रशिक्षणको आवश्यकता महसुस भई तालिमको आयोजना गरिएको पनि उहाँले बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले वन्यजन्तु तथा वन पैदावार संरक्षणमा सशस्त्र प्रहरीसँगको सहकार्यलाई भविष्यमा समेत निरन्तरता दिइरहने बताउनुभयो ।

वन्यजन्तु संरक्षण नेपालका प्रमुख कार्यकारी अधिकृत प्रशन्न योञ्जनले नेपालमा वन्यजन्तु संरक्षणसम्बन्धी भए गरेका कामकारबाहीबारे जानकारी दिनुभयो । राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन्यजन्तु संरक्षण नेपालसँगको सहकार्यमा संचालन भएको उक्त प्रशिक्षण कार्यक्रम दुई दिनसम्म संचालन हुनेछ ।

तालिममा १६ सशस्त्र प्रहरी नायब उपरीक्षक तथा ३७ सशस्त्र प्रहरी निरीक्षकको सहभागीता छ । रासस