आज माघे संक्रान्ति, देवघाटमा ठूलो मेला

काठमाण्डौं, १ माघ ।
माघे संक्रान्ति, सूर्य धनुराशिबाट मकर राशिमा प्रवेश गर्ने दिन । यो दिन दिनलाई मकर संक्रान्ति पनि भनिन्छ ।

यो दिन सूर्य दक्षिणायनबाट उत्तरायण हुने विश्वास गरिन्छ। यो दिन विहान सबेरै उठी विशेषगरी दोभान वा त्रिवेणीमा स्नान, तर्पण गर्ने परम्परा छ। नवलपरासी, चितवन र तनहुँको संगमस्थलको त्रिवेणी देवघाटमा ठूलो मेला लाग्छ।

रिडी क्षेत्रमा रहेको रूरू तीर्थस्थलमा समेत मेला लाग्छ। उपत्यकामा शंखमुल, आर्यघाट आदि क्षेत्रको साथै काभ्रेको पनौती सिन्धुपाल्चोकको दोलालघाट लगायतका क्षेत्रमा पनि मकर नुहाउनेका घुइँचो लाग्छ। नदी, तलाउ र पवित्र स्थलमा स्नान गरी पितृतर्पण, देवपूजन, हवनआदि नित्यकर्म सकी पुरोहितहरूबाट माघसंक्रान्ति महिमा सुन्ने परम्परा छ।

यो दिन तिलको लडडु, घिउचाकु, तरूल, खिचडी सेल रोटी, फुलौरा आदि खाने चलन छ पदार्थ खाने गरिन्छ। यी खानेकुराले माघको जाडोमा उष्णता दिनुको साथै स्वास्थ्यलाई समेत फाइदा पुग्ने चिकित्सकहरू बताउँछन् ।

माघे संक्रान्तिको आसपास सूर्य उत्तरायण हुने र विस्तारै दिन लामो हुँदै जाने र केही न्यानो बद्ढै जाने समेत हुन्छ। ऋतुको हिसावले हेमन्त सकिएर शिशिरऋतु लाग्ने भएकोले यो पर्वको महत्त्व रहेको पं. बालमुकुन्द देवकोटा बताउँछन्।