पर्वतमा किन बढ्यो गर्भपतन ?

पर्वत, २५ पाैष । संजय रेग्मी
राज्यले  बढीमा १२ हप्ता सम्मको  गर्भ गर्भवती महिलाको  इच्छानुसार पतन गराउनुलाई आकस्मिक सेवाको  रुपमा मान्यता दिए पनि गर्भपतन भने संस्कृतिको रुपमा विकास हुँदै गरेको पाइएको छ ।

नेपाल परिवार नियोजन संघ पर्बत शाखाका अनुसार आर्थिक बर्ष ०७२/०७३ मा झण्डै एक हजारले सुरक्षित गर्भपत गराएकोमा आर्थिक बर्ष ०७३/०७४ मा भने ११ सय ५४ जनाले सुरक्षित गर्भपतन गराएका छन । परिवार स्वास्थ्य कार्यक्रमकी फोकल पर्सन सीमा कुँवर भन्छिन, ‘१५ देखि ४० बर्ष उमेर समूहका महिलाहरुले गर्भपतन गराउने गरेका छन ।

जिल्लाभित्र रहेका बिभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतको काम हुने गरेको भएपनि सबैभन्दा बढी जिल्ला अस्पतालमै आएर गर्भपतन गराउने गरेको तथ्यांक छ।’ यद्यपी, गर्भपतन गराउनेहरुमा भने ग्रामिण क्षेत्रकै महिलाहरु बढी रहेको पाईएको छ । उनका अनुसार फलेवास नगरपालिकाको देबिस्थान स्वास्थ्य चौकी, पैयूँ गाउँपालिकाको हुवास स्वास्थ्य चौकी लगायतका अन्य ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेको संख्या बढेको पाईएको हो ।

सरकारी स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरु बाहेक अबैधानिक तरीकाले नीजि क्लिनिकहरुमा गर्भपतन गराउनेको संख्या पनि उत्तिकै छ। नीजि मेडिकल हलहरुले गोप्य रुपमा गराउने गर्भपतनको संख्यालाई पनि जोड्ने हो भने गर्भपतनको अवस्था भयाभह रहेको देखिन्छ। जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरीटेण्डेण्ट डा. बुद्धिबहादुर थापा भन्छन, ‘कानूनले  सुरक्षीत रुपमा तोकिएका स्वास्थ्य संस्थाहरुले  गर्भपतन सेवा दिइरहँदा गर्भपतनलाई परिवार नियोजनको  साधनका रुपमा प्रयोग गर्दा सेवाको  दुरुपयोग भएको  छ ।

चेतना र स्वास् थ्य शिक्षाको  अभावको कारण भन्दा पनि लापरवाही गरेर नै महिलाहरुले  गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा अपनाएका छन।’ गर्भपतन गराउनेहरुमा सानै उमेरमा प्रेम बिबाह गरेका किशोरीहरुको संख्या पनि उत्तिकै छ भने एकै महिलाले पटक पटक गर्भपतन गराउने गरेको पनि पाईएको छ। तर, कानुनी रुपमा भने स्वाभाविकैले  एक पटक रहन गएको  अनिच्छित गर्भलाई पतन गराउन सक्ने  व्यवस्था छ। दोहोरिनेहरुको संख्या भने ग्रामिण क्षेत्रका महिलाहरुको भन्दा बजारमा बसोबास गर्नेहरुको संख्या बढी छ। विद्यालयको पाठ्यक्रमदेखि सरकारी र गैर सरकारी संस्थाहरुले समेत गर्भपतनका बेफाईदाबारे शिक्षा प्रदान गर्दै गरेको बेलामा गर्भपतन गराउनेको दर घट्नुको सट्टा बर्षेनी बढ्दै गैरहेको छ।