लोकको साझा सम्पत्ति : लोकगीत (भाग :२)

बाकि खाेजमुलक लेख…

  • नेपाली समाजमा लोकगीत

विशेषतः नेपाली समाज वेद, उपनिषद्, रामायण, महाभारत, पुराण, त्रिपिटक्, धम्मपद, बाइबल, कुरान, ठ्यासाफू, मुन्धुम आदि ग्रन्थहरूमा वर्णित भएका विषय र सन्दर्भबाट बढी प्रभावित भएको छ । यिनै ग्रन्थहरूबाट निर्देश गरिएका परम्परित मान्यतालाई अङ्गीकार गर्दै र आधुनिक जीवनले निम्त्याएका समाजका सारलाई लिंदै नेपाली समाज अगाडि बढेको पाइन्छ । नेपाली समाजले आफ्ना आस्थाका ग्रन्थमा प्रयोग भएका विषय, आस्था, विश्वासलाई अक्षुण्ण राख्ने सिलसिलामा तिनका मान्य चिन्तनलाई समयअनुरूप लोकका भाकामा सजाउँदै आएको छ । कतिपय अवस्थामा व्यक्तिका आस्था धार्मिक विषयसित जोडिंदा लोकभजनका रूपमा प्रकट भएका छन् भने समाजमा मनोरञ्जन गराउने हेतुबाट सांस्कृतिक मेला, जात्रा, पर्व उत्सवका अवरमा लोकगीत बनेर समाजलाई गतिशील बनाउन अग्रसर पनि भएका छन् । परम्परादेखि प्रचलनमा रहेको पोसाक, भौगोलिक प्रतिबिम्ब एवम् आवासका सन्निधानबाट निर्मित मौलिक लोक संस्कृतिको संरक्षण र विश्वव्यापीकरणको प्रभावलाई पनि ग्रहण गर्दै समयको चापबाट निर्मित भएका विषयलाई आफ्ना परम्परा र मान्यतासँग समन्वित गरी नेपाली समाजमा लोकगीत निरन्तर अगाडि बढिरहेको छ । धर्म, पर्व, कर्म, संस्कर आदि जुनसुकै दृष्टिबाट भए पनि नेपाली समाज परम्परादेखि प्रचलनमा रहेका संस्कार, संस्कृति र सामाजिक मान्यतालाई अपनाउँदै आस्थाको धरोहरबाट निर्देशित बनेको मान्य चिन्तनलाई लोकगीतले विषयवस्तु बनाएको पाइन्छ । नेपाली समाजमा लोकगीत समकालीन समयसम्म समयको सारबाट निर्मित भएका विषयमा जोडिएको छ र आधुनिक समाजमा विकसित हुँदै गएका मान्यतालाई पनि स्वीकार गरी अगाडि बढेको छ ।

समयको गतिसँगै समाजमा परम्परित रूपमा स्थापित भएका मान्यता यथार्थतः उस्तै र उही भावनका साथ रहन सक्दैनन् । समाजका समग्र परिवेशमा घटित हुने यावत् विषयको सत्यापन गर्न तयार हुने रचनात्मक विधि लोकबाट क्रमशः सिर्जित हुँदै जान्छ । समाजको व्यक्तिले आफू बााचेको समाज, जीवन, परिस्थिति अनि परिवेशको प्रतिच्छाया आफ्ना गला र कलामा स्थापित गर्दछ । सामाजिक जीवनका तथ्यलाई समकालीन लोकका व्यवहारपरक प्रचलनबाट प्रकट गर्दा समय र समाजअनुसार सौन्दर्यबोध एक प्रकारको हुँदैन । समाजको गतिशीलतालाई ग्रहण गर्ने विद्यमान अवस्थाअनुरूप तिनमा निरन्तर परिवर्तन हुँदै जानुपर्छ । तसर्थ युग—जीवनअनुसार मानिसले व्यतीत गर्ने जीवनमा धर्म, अर्थ, संस्कार, संस्कृतिका प्रारूप लोकमा समान रूपमा वितरित र स्थापित पनि हुँदैनन् । समयको घुमाइमा मनोरञ्जन मूलक क्रियाकलाप देखाउने उत्साह समय र लोकको भावनासँग जोडएको हुन्छ । समयबाट निर्मित बनेको जीवनको तथ्यपरक चित्रण गर्न समाजमा नयाँ मान्यता स्थापित हुँदै जान्छ । अनि लोकगीतले समाजमा स्थापित भएका तिनै मान्यतालाई पछ्याउँदछ । कृषि जीवनमा कृषकले आत्मसात् गरेका र त्यस जीवनका सामाजिक स्वरूपका विषय र चरित्रलाई लोकगीतमा उठान गर्नु अनि समाजमा सहरीकरणको प्रभाव बिस्तार हुँदा तिनका विषयलाई लोकभाकामा सजाउनु लोकगीतको स्वकीय चरित्र हो ।

वैदेशिक रोजगारी वा औद्योगीकरणका समयमा निम्न तहका कामदारका जीवनका यथार्थलाई लोकगीतमा समेट्ने काम आदरपूर्वक गरिन्छ । जीवन र जगत्का बारेमा विशद अध्ययन हुँदा लोकमा प्रचलित वस्तु र व्यवहारलाई हेर्ने दृष्टिकोणमा पनि नयाँ सोच विकास भएको हुन्छ । समयको गतिसँगै अगाडि बढ्दैजाँदा हरेक समाजको विषयवस्तु स्थिर अनि एकात्मक रहन सक्दैन । हिजो, आज र भोलिको चिन्तन एवम् समाजको गतिमा स्वतः अन्तर हुन्छ । यस अवस्थामा समाज सञ्चालन र व्यवस्थापनका प्रतिमान फेरिंदै जान्छन् । समयअनुसार त्यसलाई अपनाउँदै ज्ञान र व्यवहारका माध्यमबाट लोकमा प्रकटीकरण हुने स्वाभाविक अवस्थामा विकसित हुनु अनिवार्य हुन्छ । तसर्थ समाजका गूढतम सन्दर्भलाई पहिल्याउन र समाजका तल्लो वर्गका पात्रहरूको जीवनको यथार्थ व्यक्त गर्न लोकका सन्दर्भ परिवर्तित तात्पर्यसँग जोडिएका हुन्छन् (पौड्याल, २०७१ : ४६) । समसामयिक नेपाली समाज विवेच्य सन्दर्भसँग जोडिएको छ र यसबाट स्थापित भएको मान्यतालाई ग्रहण गरी नेपाली समाजमा लोकगीत प्रचलित बनेको छ ।

समाजमा समकालिक समयमा प्रचलनमा रहेका लोकगीतले समयसापेक्ष, समाजसापेक्ष र युगसापेक्ष विषय र तिनबाट प्रकट भएका सन्दर्भलाई पछ्याएको हुन्छ । सामाजिक चेतनाको आभास अनुरूप समयको कालखण्डमा एक समयका सामाजिक चिन्तन सबै समय र समाजमा स्थिरीकरण हुँदैनन् । परिवर्तित समय र जीवनको यथार्थ लोकको आह बनेको हुन्छ, जसलाई लोकगीतले टपक्क टिप्छ । समाजका वस्तुसत्यलाई सजाउने भाका ÷ लय परम्परासँग जोडिने भए पनि समयको गति, युगीन जीवनसित जोडिएको आवश्यकता र नयाँ मानकको खोजी गर्दा लोकगीतमा परिवर्तनका स्पर्श प्रकट हुन जान्छन् । यसै कारणले गर्दा नेपाली समाजमा परम्परित लोकगीत, सिर्जना गरिएका लोकगीत र संस्थास“ग जोडिएका लोकगीतको स्थापना देखिन गएको छ । समसामयिक समयको नेपाली समाजको परिवर्तित मानकका प्रारूपलाई खोज्ने हो भने नेपाली युवायुवतीहरू कामको खोजीका लागि विदेशतर्फ लाग्ने सामाजिक स्वरूप भेटिन्छ ।

कामको खोजीका लागि विदेश पलायन भएको जनशक्तिमध्ये सबैले आफूले पाइलो राखेको भूमिमा समग्र दृष्टिले सुख पाएको पनि छैन र आर्थिक उपार्जन गर्न पनि सकेको छैन, तथापि त्यस दिशामा नेपालीको सामाजिक चिन्तन जोडिन गएको छ । समाजमा जुन विषयले विशेष किसिमबाट प्रवेश पाएको हुन्छ र समाजलाई प्रभावित पनि बनाएको हुन्छ, त्यस दिशामा लोकगीत जोडिन पुग्दछ । विदेशमा गएका व्यक्तिका व्यथा र यथार्थलाई साक्षी राखेर गीत गाउने चलन नेपाली समाजमा हिजो थियो, आज छ र भोलि पनि रहने नै छ । काम र मामको खोजीका लागि विदेशतर्फ लाग्नुपर्ने बाध्यात्मक परिस्थितिको यथार्थ चित्रण गरी लोकबहादुर क्षत्रीले गाएको गीतले नेपाली समाजको यथार्थ व्यक्त गर्दछ । यसरी नेपाली समाजको यथार्थ र परम्पराको प्रवाहलाई दृष्टिगत गर्दै गाइएका गीत समाजका साक्ष्य बनेका छन् । तिनै लोकगीतले नेपाली समाजमा आफ्नो स्थान पनि बनाएका छन् ।

आमा रुँदै गाउँबेंसी मेलैमा

 छोरो रुँदै गोरखपुर रेलैमा ।।

नेपाली समाजका सर्वसाधारण मानिसहरू कामको खोजीका लागि विदेशी भूमितर्फ लाग्ने पुरानो प्रचलन हो । भारतका विभिन्न भू—भागमा छरिएर दरबान, कुल्ली, चौकीदार, माली, रक्षक जस्ता साधारण किसिमका काममा संलग्न हुने विषय होस् वा राज्यको रक्षाका लागि खटिने सिपाही नै हुने काम किन नहोस् आर्थिक उपार्जनको पक्ष मुख्य बनेको दृष्टिगोचर हुन्छ । भुटान, म्यानमार, बेलायत आदि जुनसुकै देशमा गएर जीवन चलाएको भए पनि त्यस ठाउँमा नेपालीले भोगेका सास्तीलाई हिजोको सन्दर्भमा लोकगीतको विषय बनाइएको थियो । तिनका पीडा र व्यथालाई लोकलयमा सजाइएको थियो । त्यसैले पहिलो वा दोस्रो विश्वयुद्धका विषयलाई साक्ष्य बनाई झलकमान गन्धर्वले गाएको गीतले नेपाली समाजको वास्तविकतालाई प्रकट गर्दछ ।

हे बरै, दसैधारा पो नरोए आमा,

 बाँचे पठाम्ला, तस्वीरै खिचेर

 कस्तो लेख्यो भावीले, कर्मलिलाठैमा लौ हजुर

 बाबाले सोध्लान् नि, खै छोरो भन्लान्

 रन जित्तै छ, भन्दिए

 आमाले सोध्लिन् नि, खै छोरो भन्लिन्

 रज है खुल्यो भन्दिए२ … ।। आदि

माथि उल्लेख गरिएको गीतमा नेपाली समाजको यथार्थ व्यक्त भएको छ । आजको परिवर्तित समयमा विष्णु खत्रीले गाएको जम्बु कास्मीरमा, फर्क परदेशी, यस पालीको दसैंमा आइन मेरी मुटु, विमलराज क्षत्रीले जापान टोकियो, मैले चिठी पठाकै थिएँ नि कता रोकियो, वसन्त थापाको बनेर आँसु झर्दाखेरिमा, डोकोमा तोरेको भाले यामबहादुर क्षत्रीको यो मन जलाई जलाई, पराइको आगनीमा फुल्न जानेन, कस्तो दिनमा जन्म भयो, झल्को आउँदा भेट्न पाइएन, रुँदारुँदै गयो, म त जालमा परें निरमाया, बिचल्लीमा परें, कल्पनामै भएनि देख्छु भनेको, मनको कुरा भन्छु भेटेर, सेते दाइस“ग पार्सल पठाछु, दसैं तिहास मनाउने हो केले, पशुपति शर्माको मलाई जापान पनि यै जस्ता लोक दोहोरी गीतले नेपाली समाजको समकालीन यथार्थलाई प्रकट गरेका छन् ।

कामका लागि विदेशतर्फ लाग्ने गन्तव्य फेरिएको होला तर समस्या भने उस्तै र उही रहेको छ । नेपाली समाजमा प्रचलनमा रहेका समसामयिक दुःख, पीडा, व्यथाका स्वरूपलाई लोकगीतमा उठान गरेको ठान्नु सामाजिक न्यायका निकटमा रहने विषय हो । तसर्थ परिवर्तित सन्दर्भका विषय नेपाली लोकगीतमा उठान भएको छ र नेपाली गीतमा प्रकट भएको समसामयिक विषय गतिशील समयका दृष्टिले सान्दर्भिक बन्छ ।
समसामयिक नेपाली समाजका कथा, व्यथा र पीडाका विषयलाई लोकलयमा सजाउँदा विशेषतः अरबतिर कामका लागि पुगेका नेपालीले पाएका दुःख, दर्द एवम् यातनाका सन्दर्भ अधिकांश गीतमा प्रकट भएका छन् । बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया पुगेका नेपालीका विषय लोकगीतमा समावेश नभएका होइनन् तर तिनका विषय र सन्दर्भ फरक छन् । किनभने विकसित मुलुकको भूगोलमा पढाइ वा कामका लागि प्रवेश गरेको प्रत्येक नेपाली ज्ञान, सीप, दक्षता हासिल गरेको अंशतः सक्षम नागरिक हो । प्राविधिक शिक्षा आर्जन गरेको वा पढाइमा अब्बल दर्जाको भनी राज्यका निकायबाट प्रमाणित गरिएको व्यक्ति स्वदेशमा पनि सहजै बाँच्नसक्ने जनशक्ति विदेशी भूमिमा पनि सम्मानित बनेको छ र सजिलैसित बाँचेको छ ।

भौतिक सम्पन्नताको शिखरमा रमण गरेका देशमा आवासको सुबिधा लिनका लागि कतिपय उच्च ओहोदामा पुगेका मानिससमेत मरिहत्ते गरेको समाचार दैनिकजसो पढ्न पाइन्छ । यसले के देखाउँछ भने अल्पविकशित देशका नागरिक सम्पन्न मुलुकमा बसाइँ गर्न चाहन्छन् । सम्पन्न मुलुकमा छिरेपछि सुख वा दुःख जेसुकै होस् । तल्लोभन्दा तल्लो स्तरको काम गर्न किन नपरोस् तर त्यहाँ जान पाउनु नै प्रादेशिक बसाइँका दृष्टिबाट समाजमा उच्च वर्ग भएको प्रमाणित गर्ने मान्यता नेपाली समाजमा स्थापना गर्नु रहेको छ । सम्पन्न मुलुकमा गएका मानिसका जीवनका कथा, व्यथा अनन्त होलान् तर गीतका माध्यमबाट भने नेपाली समाजमा प्रकट भएका छैनन् । आर्थिक दृष्टिले सम्पन्न मुलुकमा छिरेका नेपालीका वैभवका विषय समाजका चिन्तनमा उठेका, उठाइएका हुन सक्छन् तर दर्द र पीडाका प्रकृति भने नेपाली लोकलयमा खासै प्रकट भएका छैनन् ।

अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा जस्ता देशमा नेपाली समाजको मानिस पढाइ वा कामका लागि पुगेको छ भने समाजमा व्यक्ति र परिवारको स्तर माथिल्लो तहमा गणना गरिने चिन्तनबाट नेपाली समाज रोगी बनेको छ । सुखका लागि नेपाली समाजको मुख सम्पन्न मुलुकतर्फ मोडिन पुगेको छ । तिनका व्यथा नेपाली लोकगीतमा खासै आएका छैनन् । त्यसैले सम्पन्नताको शिखर चुमेका अभिजात्य वर्गका विषयवस्तु लोकगीतको प्रतिपाद्य विषय होइन भन्ने बुझिन्छ ।

नेपाली समाजका सर्वसाधारण मानिस सामान्य किसिमको कामको खोजीमा जाने गन्तव्य भनेको अरबको खाडी नै रहेको छ । त्यस ठाउँमा नेपालीहरूले भोगेको सास्ती, ठगी, यातनासमेतलाई नेपाली लोकगीतमा मुख्य विषयवस्तु बनाइएको छ । त्यतातर्फ लाग्ने भनेका सामान्य नेपाली हुन् र तिनको जीवन, तिनको पारिवारिक अवस्था, सामाजिक अवस्था, परिवार विघटनका कारणलाई समेत आधार बनाई नेपाली जीवनका परिवर्तित सन्दर्भमा लोकगीतको सङ्कलन, गायन गर्ने मोह विकास भएको छ । तातो हावामा काम गरेका विषय होऊन् वा बालुवामा जीवन चलाएका सन्दर्भ नै किन नहुन् खाडी क्षेत्रका कामदारले पाएका दुःखका विषय नेपाली लोकगीतमा प्रकट भएको पाइन्छ । लोकगायक प्रजापति पराजुलीले सिर्जना र गायन गरेको साउदी अरब जङ्लमा भेडा चराउँछु जस्ता गीत नेपाली समाजको समकालीन यथार्थ प्रकट गर्न सक्षम बनेका छन् ।

सामाजिक चिन्तन र परिस्थिति अनुकूल रहँदा समाजका विराट् सूचना प्रकाशमान बनेर गीतमा उपस्थित हुन्छन् । समाजका परिवर्तनका चरित्रका बारेमा हावर्ड फाष्टको भनाइ मननीय रहेको पाइन्छ । उनी लेख्छन्— यथार्थता फेरिन्छ, प्रतिमानहरू पनि फेरिनुपर्छ । कुनै शाश्वत् प्रतिमान सम्बन्धमा शाश्वत् शब्दको प्रयोग नै एक ठुलो घृष्टता हो । एक चिन्तनशील मानिसले सोच्न र हिम्मत गर्नसक्ने एकमात्र शाश्वत् गुण परिवर्तन स्वयम् हो, तर संस्कृति, नीतिशास्त्र र नैतिकताका मान मात्र रहेका प्रतिमानहरू आफूले प्रतिविम्बित गर्ने तत्त्वहरू उत्तिकै परिवर्तनका अधीनस्थ छन् (अनु.भण्डारीसमेत, २०६६ : ३७) । यसर्थ समकालीन समाजमा स्थापित भएका मूल्य र मान्यतालाई अगाडि बढाउने वस्तुपरक चिन्तन लोकगीतको गतिशील प्राण बनेको हुन्छ ।

समाजमा विद्यमान रहेका प्रारूपलाई पर्यवेक्षण गर्न लोकगीतको अध्ययन अनिवार्य हुन्छ । समाजलाई निरन्तर नवीन मानकका साथ प्रकट गर्न पनि लोकगीत अनिवार्य रहन्छ । त्यसैले समाजको सौन्दर्य उजागर गर्न लोकगीत निरन्तर क्रियाशील भएको हुन्छ । विज्ञान र प्रविधिको द्रूततर विकासले गर्दा लोकमा स्थापित भएको मान्यतामा स्वतः परिवर्तन भएको हुन्छ । समाजमा प्रतिबिम्बित गुण, दोष, असल, खराब, राम्रो, नराम्रो परिवर्तनका सकारात्मक, नकारात्मक सार र प्रभाव लोकगीतका विषयवस्तु बन्दछन् । धवलागिरि अञ्चलको भूगोलबाट समाजमा प्रकट भएका कि सास चाहियो, कि लाश चाहियो, अन्तरजातीय विवाह, फर्क परदेशी, भरिया दाइ, किसान दाइ, साहुकै गोठालो, कता गयौ गीत गाउने गाइने दाइ, सुख कलाई छ, याँ भन्दा नि कति रुनु छ र, चोटै चोटको खानी पीडा धेरै छन्, जस्ता लोक दोहोरी गीतले नेपाली समाजको यथार्थ उठाएका छन् । नेपाली समाजका युवाहरू काम र मामको खोजीका लागि विदेशतर्फ लाग्दा नेपाली घरआगनमा गुञ्जिने सारङ्गीको धुन वर्तमान समयमा ग्रामीण समाजमा हराउँदै गएको यथार्थ प्रह्लाद सुवेदीको नेपाली लोकसिर्जना र याम क्षत्रीले स्वर दिएको लोकगीतमा समकालीन यथार्थ यसरी व्यक्त भएको छ—

कता गयौ गीत गाउने गाइने दाइ, दुःख पिर विरहमा चाइने दाइ ।।

 बिन्ती गर्छु एउटा कुरा गाइने दाइले सुन

 बज्नै छाड्यो गाउँबेसीमा सारङ्गीतको धून

 कता गयौ गीत गाउने गाइने दाइ, दुःख पिर विरहमा चाइने दाइ ।।

 मकैसँग साट्ने गथ्र्यौ विरहका गीत

 किन नाता तोड्न खोज्यौ भीर पखेरासित

 कता गयौ गीत गाउने गाइने दाइ, दुःख पिर विरहमा चाइने दाइ ।।

नेपाली समाजमा हिजोको समयमा सामाजिक, सांस्कृतिक कामका सिलसिलामा मानिसहरू एक ठाउँमा जम्मा हुने र आफूमा अन्तर्निहित रहेको ज्ञानलाई बिस्तार गर्ने गर्दथे । समाजिक, सांस्कृतिक काममा बालबालिका, युवायुवती वृद्धवृद्धा सबैको साझा उपस्थिति रहन्थ्यो । परिस्थिति अनुरूप सन्दर्भ मिलाएर लोकका विषयवस्तु प्रकट हुन्थे । काममा संलग्न भएका मानिसले त्यसलाई सहजै ग्रहण गर्न पनि पाउँथे । आगो ताप्न अगेनाको वरिपरि बसेको समयमा बूढाबूढीले शिक्षा प्रदान गर्ने दृष्टिबाट होस् वा आफूले जीवनमा आर्जन गरेका विषय समाजमा सम्प्रेषण गर्ने हेतुले किन नहोस् सबिस्तार जानकारी गराउँदा वा लयात्मक रूपमा सुनाउँदा सामान्य मानिसले पनि लोकका विषयवस्तुलाई ग्रहण गर्ने अवसर प्राप्त गर्दथ्यो । बूढाबूढीको शरीरमा तेल, घिउ लगाएर मालिस गर्दा उनीहरूले शिक्षा, उपदेश, नैतिकतासँग निकट सम्बन्ध राख्ने गीत, भजन, उखान, टुक्का, गाउँखाने कथा सुनाउने नेपाली समाजमा रहेको प्रचलन हो । यस प्रकारको कामले एकातिर नैतिक उपदेश र शिक्षा दिएको हुन्थ्यो भने अर्कोतर्फ वृद्धहरूमा संचित ज्ञानभण्डार परिवारका सदस्यबाट समाजका सबैमा सम्प्रेषित हुन्थो । त्यसैले कुनै लोककथा सुनाउँदा कथाको अन्त्यमा सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला भन्ने प्रचलन नेपाली समाजमा थियो । बालबालिकाहरूलाई भेला गराएर बालगीत गाउन लगाउने वा नयाँ एवम् अन्य भूगोलमा प्रचलनमा रहेका बालबालिकाका सामग्री अर्को भूगोलका बालबालिकाहरूलाई उनीहरूकै भाषा (बालभाषा) मा सुनाउने कार्यले विशेष प्राथमिकता पाउँथ्यो । जसले गर्दा लोकको समग्र ज्ञान श्रुतिपरम्परामा जीवित रहन सकेको थियो ।

धान, कोदो रोपाइँका समयमा बेठ, हुद्दा लगाउने र असारे, साउने, भदौरे भाकामा गीत गाउने वा बाजा बजाउने प्रचलनबाट नेपाली समाजमा सदियौंदेखि परम्परित रूपमा सर्दैसर्दै आएका लोकगीतको संरक्षण भएको थियो । यसरी नै ऋतु, पर्व, कर्म, संस्कारका समयमा गाइने लोकगीतको संरक्षण भएको हो । यसलाई नै नेपाली समाजमा बूढा मरे, भाका सरे भनिएको हो । आजको समयमा नेपाली समाजमा सामान्यतया बेठ, हुद्दाका सन्दर्भमा गाइने असारे, साउने, भदौरे गीत गाउने प्रचलन अन्त्य जस्तै भएको छ । समाजबाट असारे, साउने र भदौरे गीतका भाका क्रमशः हराउँदै जान लागेको अवस्था रहेको छ भने कोदो रोप्दा, कोदो गोड्दा, धान गोड्दा, दाइँ राख्दा, हरेलो गर्दा, आदि खेतीपातीका सन्दर्भमा गाइने गीत पनि नेपाली समाजबाट हराउन लागेको अवस्था रहेको छ । तिनका लय ÷भाका समाजमा होलान् तर हिजोको समाजमा प्रचलनमा रहेका गीतका भाव, शब्द र सन्दर्भ हराएका छन् । कर्म, पर्व र संस्कारका समयमा मानिसका गलामा अवतरण हुने लोकगीतको समग्र स्वरूप बताउने मानिसहरू नेपाली समाजमा क्रमशः अन्त्य हुँदै गएका छन् । तसर्थ नेपाली समाजमा लोकगीतका प्रारूप पनि विषय, सन्दर्भ र भूमिकाका दृष्टिले परिवर्तित अवस्थामा प्रकट भएको स्वीकार गर्न सकिन्छ ।

आजको समसामयिक समयमा एकाघरमा आश्रय लिएका परिवारका बीच महिनौंसम्म भेट नहुने अवस्था छ । मानिस एकाङ्गी बनेको छ । सामूहिक रूपमा श्रम गर्ने परिपाटी क्रमशः समाजमा हराउँदै गएको छ । गाउँमा वल्लो घर र पल्लो घरका बीचमा ऐँचोपैँचो, सरसापट, परेली, नुनभुटन, आगोपानी, लेनदेन आदि हराउँदै गएको छ । नेपाली समाजमा परम्परादेखि चलिआएका आपसी सहयोग र सद्भावका विषय क्षयीकरणतर्फ उन्मुख भएका छन् । युगीन मान्यताबाट नेपाली समाज क्रमशः ग्रसित हुँदै गएको छ । आधुनिक युगमा विकसित भएका प्रविधिका विषयले के सहर के गाउँ समाजका मानिसहरूलाई प्रत्यक्ष असर गरेको छ । गाउँमा पनि यदि कुनै सामाजिक समस्यामा छलफलको विषय परिहाल्यो भने मानिस सशरीर उपस्थित हुन असमर्थ हुन थालेको छ । वल्लो कोठाबाट पल्लो कोठामा बसेको मानिस वा परिवारको सदस्यलाई बोलाउनुप¥यो भने मानिसले हातमा रहेको मोबाइलको प्रयोग गर्छ । उसको ढोकासम्म पुगेर बोलाउने र व्यक्तिको अनुहार हेर्ने काम गर्दैन । समाजमा सामूहमा जम्मा हुने र आपसमा विचार बाँढ्ने चलन पनि हराउँदै गएको छ । एउटै कोठामा बसेका साथीका बीच पनि निकै कम बोलचाल हुन्छ, किनकि हातमा रहेको मोबाइल, कम्प्युटर, टेलिभिजन आदि प्रविधिका समाग्रीले मानिसका बीचमा रहने आत्मीय सम्बन्ध र सहकार्यलाई हरण गरेको छ । प्रविधिका माध्यमबाट प्रयोगमा रहेका सामग्रीमा व्यक्तिले आफूलाई समर्पित गर्दा नेपाली समाजमा विद्यमान रहेका मौखिक परम्परामा जीवित सामाजिक सहकार्यका क्रियाकलाप स्वतः अन्त्य हुने अवस्थामा पुगेका छन् । गाउँको कुनाकुनासम्म पनि प्रविधिको प्रयोग भएको हुँदा समसामयिक समयमा परम्परित लोकलयमा रमाउने समुदाय पनि युट्युबबाट बज्ने लोकगीतमा प्रवेश भएका छन् । मौखिक परम्परामा जीवित रहेका भाका, लय समाजमा हराउँदै गएका छन् । समाजले विद्युतीय अन्तरजालबाट सजिलै उपलब्ध हुने लोकगीतलाई सहजै स्वीकार गरेको छ । तसर्थ समाजमा नवीन मानकका साथ उपस्थित भएको समयको स्वरूपलाई लोकगीतको परिवर्तनका रूपमा स्वीकार गर्दा सान्दर्भिक हुन्छ ।

समसामयिक समयमा समाजमा नवीन मान्यता अगाडि आएको छ । समाजका विषयलाई सिर्जनाका माध्यमबाट लिपिबद्ध गरी लोकगीत गाउने र तिनलाई प्रविधिका माध्यबाट सुरक्षा गर्ने कामको थालनी भएको हुँदा नेपाली जीवनका विषयवस्तु पनि आजको सन्दर्भमा विद्युतीय अन्तरजालमा जोडिन गएका छन् । समयको गतिशीलतालाई पछ्याउने दृष्टिले समसामयिक कामले गर्दा विश्वको जुनसुकै कुनामा बसेर पनि मानिसले आफ्नो कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने अवसर प्राप्त गरेको छ । आजको समयमा मानिसले अन्तर्मनबाट चाहना राख्यो भने समाजको लोप हुन लागेको विषयलाई ध्वनि, शब्द, लय, भाका, अभिनय, साङ्गीतिक आरोह—अवरोह, हस्तक्रिया, विधि, रूप र शैलीलाई प्रचलित मान्यताका रूपमा जोगाउन सक्छ ।

समसामयिक समयमा लोप हुन लागेको जुनसुकै विषयवस्तुलाई सुरक्षण गर्ने प्रविधिको विकास भएको हु“दा आत्मालाई अन्यत्र राखेर गन्ध विहीन सिर्जनालाई सजाउन भने सकिन्छ । आजको समयमा लोकगीतको सिर्जना, सङ्कलन र गायन जसरी भएको छ, यसमा शब्द, लय, भाका होला तर लोकको आत्मा भने उपस्थित छैन । यस प्रकारको युगीन सन्दर्भको विषयलाई पनि नेपाली लोकगीतको अध्ययनका सिलसिलामा परम्परामा नवीनताका दृष्टिले अध्ययन गर्नु समय सान्दर्भिक हुन्छ । तसर्थ यस अध्ययनमा मौखिक परम्परामा जीवित लोकगीतहरूको खोजी र आधुनिक जीवनसित जोडिएका लोकगीतलाई पनि समावेश गर्ने अभीष्ट राखिएको छ ।

यसरी लोक शब्दले लोकमा प्रचलित साहित्यलाई बुझाउँछ । लोक शब्दले लोककथा, लोकगाथा, लोकनाटक भन्दा पनि लोकगीतलाई नजिकबाट अथ्र्याएको हुन्छ । गीतमा लयात्मकता, सरसता, अभिनेयता, साङ्गीकता रहने हु“दा लोक शब्द नेपाली समाजमा लोकगीतका निकटमा व्यवहृत भएको छ । लोकगीतलाई जीवन्त राख्ने कतिपय परम्परित मानक बनेका नृत्य, वाद्य र लय समकालीन सन्दर्भमा फेरिंदै गएका छन् । समाजको गतिशीलताको प्रभाव चारैतिर परेको हु“दा परिवर्तित समाजका स्वरूप लोकगीतमा प्रकट भएका छन् । गतिशील समाजको चिन्तन र प्रभावबाट नेपाली भाषामा गाइएका लोकगीत पनि अछुतो बनेका छैनन् । नेपाली समाजमा लोकका विषय र सन्दर्भलाई उठान गर्ने नयाँ मान्यता स्थापित पनि भएका छैनन् र पुराना मान्यताको पुरै अन्त्य पनि भएको छैन । त्यसैले नेपाली समाज वर्तमान अवस्थामा संक्रमणमा गुज्रिरहेको छ । लोकसाहित्यका बारेमा गरिएका अध्ययनबाट लोकसाहित्य अन्तर्गत लोकगीत÷लोकपद्य, लोकगाथा, लोककथा, लोकनाटक, उखान, टुक्का र गाउ“खाने कथा समेटिएका छन् । यस अध्ययनमा भने नेपाली लोकगीत मात्र प्रतिपाद्य विषय भएको हुँदा लोकगीतबाहेक लोक साहित्यका अन्य विधाको चर्चा गरिएको छैन र लोकगीतलाई परिचित गराउने विषयको मात्र चर्चा गरिएको छ ।

लोकको साझा सम्पत्ति : लोकगीत (भाग :१)

( यो लेख धवलागिरि अञ्चलको लोकसन्दर्भलाई आधार मानेर तयार गरिएको हुनाले अनुसन्धानमूलक लेखमा रहेका कमी तथा कमजोरीलाई उजागर गर्ने किसिमका तथ्यपरक विवरण उपलब्ध गराउन विज्ञ पाठकहरूबाट उचित सुझाउको अपेक्षा गर्दछु । )

सहप्रा.डा. षडानन्द पौड्याल
सरस्वती बहुमुखी क्याम्पस, लैनचौर, काठमाडौ