टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेनन्

कञ्चनपुर, २३ मंसिर
सर्वसाधारणको सूचना प्रविधिमा पहुँच अभिवृद्धि गर्न हुलाक कार्यालय कञ्चनपुरले सञ्चालनमा ल्याइएको टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेको छैन ।

दक्ष कर्मचारीको अभाव र गुणस्तरहीन उपकरणका कारण टेलिसेन्टर सेवा प्रभावकारी बन्न नसकेका हुन् ।

फोटोकपी, लेमिनेशन, फ्याक्स, कम्प्युटर, प्रिन्ट, टेलिफोन, स्क्यानिङ र इन्टरनेट सेवा उपलब्ध गराउनका लागि खोलिएका टेलिसेन्टमध्ये आधाभन्दा बढीले विद्युत्, इन्टरनेटको समस्या र दक्ष कर्मचारीको अभावका कारण सेवा प्रवाह गर्न सकेका छैनन् । बजारमा टेलिसेन्टरले निर्धारण गरेको दर निजी क्षेत्रको भन्दा कम भए पनि जानकारीको अभावमा सेवाग्राही नआउँदा टेलिसेन्टर सेवा सञ्चालन गर्न कठिनाइ हुन थालेको हुलाक कार्यालयका सूचना अधिकारी देवसिंह सामन्तले बताउनुभयो ।

जिल्ला हुलाक कार्यालय महेन्द्रनगर र कृष्णपुरमा सञ्चालनमा रहेका टेलिसेन्टरले आंशिक रुपमा आम्दानी गर्दै आए पनि पुनर्वास, बेलौरी, बेलडांडी, झलारी, चाँदनीलगायत क्षेत्रका टेलिसेन्टर बन्द अवस्थामा रहेका छन् । टेलिसेन्टरका बिग्रिएका उपकरण मर्मतका लागि केन्द्रबाट बजेट नआउँदा सेन्टरको सेवा प्रवाहलाई नियमित गर्न नसकिएको कार्यालयका सूचना अधिकारी सामन्तले बताउनुभयो ।

टेलिसेन्टर सेवालाई प्रभावकारी बनाउनका लागि यसको उपयोगिता र उपलब्धिका विषयमा गहन अध्ययन हुनु जरुरी रहेको उहाँले बताउनुभयो । टेलिसेन्टर सेवालाई निरन्तर रुपमा सञ्चालन गर्नका लागि आवश्यक पर्ने मसलन्द र उपकरण मर्मत गर्न पर्याप्त बजेटको व्यवस्था गरिनुपर्ने हुलाक कार्यालयका कर्मचारी बताउँछन् । आव ०६७÷६८ मा यहाँका सात ठाउँमा टेलिसेन्टर सेवा सञ्चालनमा ल्याइएका थिए । रासस