बेलायत पुग्यो, आइडलको टोली

लन्डन, १६ कात्तिक ।
बेलायतका विभिन्न सहरमा प्रस्तुति गर्न नेपाल आइडलको सांगीतिक टोली बेलायत आइपुगेको छ ।

पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई, सेकेण्ड रनर अप प्रताप दास र टप टेनमा पर्न सफल प्रतिस्पर्धी प्रमिला राई बुधबार बिहान लण्डन पुगेका छन् । उनीहरुका साथमा आएका नेपाल आइडलका उद्घोषक सुशील नेपाल र गायक विवेक श्रेष्ठलाई समेत आयोजक टिमले विमानस्थलमा भब्य स्वागत गरेको छ ।

स्वागतका लागि आयोजक मनकामना रेमिटका प्रबन्ध निर्देशक राजाराम गिरी, तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङ,यती एसोसिएसनका पूर्वअध्यक्ष उमेश मोक्तान, सपन इन्टरटेन्मेन्टका निर्देशक सपन राई, पत्रकारलगायत हिथ्रो विमानस्थलको टर्मिनल ४ मा पुगेका थिए ।

मनकामना रेमिट, पोखरा ट्राभल र मुनटाज इन्टरनेसनलले संयुक्त रुपमा नेपाल आइडल ‘लाइभ इन यूके’ आयोजना गर्न लागेका हुन् । यो कार्यक्रमको पहिलो शो यहि शुक्रबार नोभेम्बर ३ मा अल्डरसटको एम्पायर हलमा, नोभेम्बर ४ शनिबार फोक्सटन ,नोभेम्बर ५ आइतबार ह्यारोमा, नोभेम्बर ११ रेडिङमा भने अन्तिम शो नोभेम्बर १२ आइतबार प्लमस्टिडमा हुनेछ ।

कार्यक्रमका हरेक शोहरुको लागि अग्रिम टिकट लिनेलाई २० पाउण्ड र ढोकामा लिनेलाई २५ पाउण्ड लाग्नेछ । १० देखि १५ वर्षसम्मका बालबालिकालाई भने १५ पाउण्ड मात्र लाग्नेछ । सबै शोहरु पूरा गरी कलाकारहरु नोभेम्बर १५ मा नेपाल फर्किने कार्यक्रम छ । शिव भण्डारी