खेल्दै सिक्ने केन्द्रको अनुगमन

नेपालगन्ज, १४ मंसिर ।
शिक्षा मन्त्रालय अनौपचारिक शिक्षा केन्द्रसहितको टोलीले आज नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित खेल्दै सिक्ने केन्द्रको अनुगमन गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक चूडामणि पौडेलको नेतृत्वमा युनिसेफ, सेभ द चिल्ड्रेन, नेपालगन्ज उपमहानगरपालिका, समुन्नत नेपाल, बाँके युनेस्को क्लबका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र पत्रकारसहितको टोलीले नगरको सल्यानीबाग र कुरेशीनगरस्थित खेल्दै सिक्ने केन्द्रको अनुगमन गरेको हो ।

बालश्रम र विद्यालय बाहिर रहेका बालबालिकाका लागि संचालित सो केन्द्रको अनुगमनका क्रममा टोलीले केन्द्रमा बालबालिकाको संख्या, कक्षा नियमितता, शैक्षिक उपलब्धि, सिकाइ प्रक्रिया, सहभागी बालबालिकाको अभिलेखीकरण र बालबालिकाको अवस्थाका विषयमा जानकारी लिइएको थियो ।

ती दुवै केन्द्रमा अहिले बालश्रम र विद्यालयबाहिर रहेका १५० भन्दा बढी विद्यार्थी सहभागी भएको बाँके युनेस्को क्लबका वरिष्ठ कार्यक्रम संयोजक रवि तुलाधरले बताउनुभयो ।

अनुगमनपछि भएको छलफलमा अनौपचारिक शिक्षा केन्द्रका कार्यकारी निर्देशक पौडेलले खेल्दै सिक्ने केन्द्रको दीगो व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । रासस