उमेर र अनुभवले परिपक्क तर ब्यवहार र बोल्ने शैलीमा सिक्न बाकी धेरै, दमकमा ओलीको अभिव्यक्ति

सरकारी जागिरे हुन् या राजनितीमा जमेका व्यक्ति, दुवैलाई आ-आफ्नो तर्फबाट देश विकासका निम्ति उल्लेखनीय योगदान पुर्याउने मौका दिइएको हुन्छ अफ्सोच कोहि व्यवहारमा लागू गर्छन् कोहि घोषणा पत्र र चिप्लो बोलीमा सिमित पार्छन् । डा. गोविन्द केसी एक सरकारी जागिरे भएकै भरमा निस्वार्थ ढंगले राष्ट्र र जनताको सेवामा खटिरहे तर नाम कहलिएका नेताहरु देश विकासका निम्ति खोक्लो प्रेमभाव र चिन्तन दर्शाउदै जनता माझ हरेक चुनावमा नया झुठो सपना या भनौ पुरानै झुठलाई अलिक नया र बिल्कुलै फरक तरिकाले प्रस्तुत गर्दै भोट लुटिरहे ।

लेखिका: प्रज्ञा पोख्रेल

प्रतिष्ठित नेता भएर एक कट्टर देश प्रेमी तथा राष्ट्र सेवकलाई राजनीतिमा आउन खुल्ला चुनौती दिएर आखिर साबित के गर्न चाहान्छन् त कमरेड के.पी ओली ? आज दमकमा गर्जिएको वहाँको अभिव्यक्तिले केही हद सम्म यो पुष्टि गर्छ कि उमेर र अनुभवले परिपक्क भएता पनि व्यवहार र बोल्ने शैलीमा वहाँले अझै धेरै कुरा सिक्न बाकी रैछ !

झापामा विवेकशील साझा पार्टिका कार्यकर्ता धेरै छैनन् र तपाईको भोट अझै पनि सुनिश्चित छ कम्रेट नत्र चुनावको मुखमा गरिएको यो गल्तीले तपाईको विपक्षी अर्थात एक भोटले चुनाव जित्छु भन्ने खगेन्द्र अधिकारीलाई पक्कै पनि ठुलै लाभ मिल्ने थियो । जनताको हितको लागि पटकपटक अनशन बसेका डा. केसीको माग पूरा गर्ने प्रतिबद्धता गर्दा आनाकानी गर्नुहुन्छ, असन्तुष्टि प्रकट गर्नुहुन्छ अनि उनै प्रती यत्रो आक्रोश किन कमरेड ? हेक्का राख्नुहोस् कमरेड यदि डा. गोविन्द केसी राजनीतिमा लागेर चुनावमा उठ्नुहो भने बहुमतले जित्ने कुरामा दुइमत छैन ।

निस्वार्थ ढंगले मेडिकलमा जीवन व्यतीत गरेका व्यक्तिलाई ठाडै मेडिकल फिल्डको कुरा नगर्न भन्नुभएको छ अब कुन आधारले हामी तपाईको घोषणा पत्रमा उल्लेखित झुठा प्रतिबद्धता सुन्नु ? हरेक चुनावमा तपाईद्वारा कार्यान्वयन गरिने भनिएका घोषणा पत्रका बुदाहरु पढ्दा खेरी लाग्छ मेरो देश पनि राष्ट्र भन्दा कम त कहाँ छ र ? अनि जब चुनाव पछि एकाएक छेपारोलाई प्रतिस्पर्धामा उछिनेर रङ फेर्न थाल्नुहुन्छ नि तब जनताहरु सङ्ग पुनः एकपटक पुर्पुरोमा हात लाउदै बस्न बाहेक अन्य कुनै विकल्प रहदैन ।

भोट माग्ने क्रममा आफ्ना राम्रा पक्ष सबैसमक्ष राख्नु सकारात्मक कुरा हो तर आफुलाई माथि उठाउनकै निम्ति तेत्रा मान्छेको अगाडि आफ्नो विपक्षी पार्टिलाई नङ्गाउदै तल झार्न खोज्नु कहासम्म उचित हो ? राम्रो पक्ष होस् या नराम्रो, देख्नेले र मुल्यांकन गर्नेले आफै गरिसकेका हुन्छन् बस् तपाई बोली र व्यवहारमा उचित ढंगले प्रस्तुत हुनुहोला। आशा छ यो चोटिको चुनाव पश्चात् मावा, दिपिनी र रतुवा खोलाको बाधको उचित व्यवस्थापन गर्ने बाचा व्यवहारमा पनि लागू गर्नुहुनेछ र हरेक वर्ष बाढीका कारण भोग्नुपर्ने सास्तीबाट जनताले केही हदसम्म राहत पाउने छन् । सक्नुहुन्छ भने पूरा गर्न नसकिने बाचा गरेर भोटकै निम्ति कसैको भावनासङ्ग नखेल्नु होला ।