प्रकाशको निधनमा जब आए चार सय फोन कल …

दैनिक पत्रिकामा काम गरेको बानीले होला म विहान अलि अबेर मात्र उठ्छु ।

आज विहान सात नबज्दै एक सहकर्मीको फोन आयो । फोन उठाएँ ।
एक प्रहरी अधिकारीको हवला दिँदै उनले ‘प्रकाश दाहालको निधन भएको’ समाचार प्राप्त भएको सुनाए ।

‘समाचार हाल्ने कि ?’ उनले सोधे ।

मैले जवाफ दिए, ‘हतार नगर्नुहोस् ।’

एक छिन पर्खन भनेर आफ्ना सम्पर्क सूत्रहरुमा फोन लगाएँ ।

धेरै सूचनाहरु सहकर्मी मित्रले सुनाए जस्तो पाएँ । तर, समाचार पोष्ट गर्न डर लाग्यो ।

तुरन्तै सहकर्मी मित्रलाई भने,  ‘प्रकाश अस्पताल भर्ना, अबस्था गम्भीर’ भनेर समाचार हालौँ ।

समाचार तुरुन्तै पोष्ट भयो ।

लेखक : नेत्र पन्थी

यतिन्जेल अरु फोन पनि आए । दुवै मोवाइलमा पालैपालो फोन आएको आयै भए ।

तुरन्तै अस्पताल गएँ । अस्पतालमा धेरै भीड जम्मा भैसकेको थियो ।
एकपछि अर्को फोन आएको आयै थियो । सबैको प्रश्न थियो, ‘खासमा भएको के हो ?’
पत्रकारितको शुरु देखि मैले माओवादी आन्दोलनलाई मूल विषय बनाएर लेखेँ । यहीकारण प्रचण्ड, वैद्य, बाबुराम होस् वा अरु चर्चित नेतासँग नियमति संवादमा रहन्थेँ । उनीहरुका राजनीतिक जीवनबाहेक नीजि जीवनका धेरै कुरामा म अपडेट पनि थिएँ ।

माअ‍ोवादी आन्दोलनमाथि तीन वटा किताव, केही डकुमेन्ट्री र सयौं लेख पनि लेखेको थिएँ ।

यो कुरा माओवादीका धेरै नेता–कार्यकर्तालाई थाहा थियो । यहीकारण थियो, मलाई फोन आउनुको ।
मैले आफुले पाएका सवै सूचना भन्थेँ । फोन गर्नेले ल केही नयाँ भए अपडेट गराउनुहोला भन्थे ।

मसँग फोन आफूले गर्ने समय भएन । लगातार फोन आए मात्र, मैले जवाफ मात्र दिएँ ।

पत्रकारिताको १० वर्ष भन्दा लामो करियरमा यति धेरै फोन मैले एकै दिन कहिल्यै रिसिभ गरेका थिइनँ ।

अस्पतालले दिउँसो १ बजे प्रेस विफ्रिङ गर्नुअगाडिसम्म निकै फोन आए ।
अस्पतालले निधनको कारणसहित प्रेस बिफ्रिङ गरेपछि पनि फोन आउन रोकिएन ।

सोसल मिडियामा मृत्युलाई लिएर अनेकौ टिका टिप्पणी भएका थिए । ती टिकाटिप्पणीको सच्चाई खोजिरहेका थिए फोन गर्नेहरु ।

मसँग जवाफ थिएन । प्रकाशलाई हेर्ने केही नजर थिए, उनीहरु आफ्नो सुविधामा बुझ्थे, ब्याख्या गर्थे ।

प्रकाश प्रचण्डका पुत्र थिए । प्रचण्डको सचिवालयका कर्मचारी पनि । साथै मेरो एक मित्र पनि ।
उनीसँग मेरो कहिल्यै स्वार्थको सम्बन्ध रहेन ।

मैले जे विषयमा लेख्थँे, त्यसका लागि प्रकाश सवैभन्दा नजिकका साथी थिए ।
कहिलेकाही रिसाउथे उनी । समाचारमा चिक्त दुखाउँथे कहिलेकाही । तै पनि दुई–चार दिनको अन्तरमा फोनमा कुरा हुन्थ्यो ।

कहिले म फोन गर्थेँ, कहिले उनी आफै फोन गर्थेँ ।

केही सूचना चाहिएमा बुझेर भन्छु भन्थे । आफै फोन गरेर ‘यसो भएको रहेछ’ भन्थे ।

एक पत्रकारका लागि खास गरेर मेरो हकमा उनले सधै न्याय गरेका थिए ।

कहिलेकाही उनी मलाई शंकाले पनि हेर्थेँ । बाबुराम नजिक रहेको पनि भन्थे । यस्तै आरोप बाबुरामको सचिवालयबाट पनि सुन्न पाइन्थ्यो ।
म सधैँ, माओवादी आन्दोलनका शीर्ष नेताहरुप्रति सम्मान गर्थेँ÷गर्छु । यो वा त्यो कित्ताबाट आफूलाई टाढा राख्थेँ । तै पनि शीर्ष नेताका सचिवालयले आफ्नो सुविधामा हेर्थेँ । पत्रकारका लागि यो स्वभाविक विषय थियो । मैले अन्यथा लिइनँ ।

कहिले फोनमा त कहिले एसएमएसमा त कहिले भेटमा प्रकाशसँग अनौपचारिक कुरा हुन्थे । उनले सधै गुनासो गर्थे, ‘म माथि मिडियाले अन्याय गरेको छ । मेरा साना तिना गल्तीमा मिडिया रमाईरहेको छ । मैले गरेको काम र भूमिकामा कहिल्यै मुल्याङ्क भए् ।’

एक किसिमले उनको गुनासो जायज थियो । मिडियाले प्रकाशमा अनुहारमा कहिल्यै शालीनता देखेन । कहिल्यै राम्रो देखेन । उनलाई राक्षक्षीकरण गर्नमै मिडियाले धेरै खर्च गरे ।
म स्थानीय तहको चुनावको रिपोर्टिङका लागि तराई–मधेश गएको थिएँ । रौतहटमा प्रकाशसँग भेट भयो । ‘बुबासँग अन्तर्वार्ता गर्नु छ, समय मिलाउनुस् है’ भने । उनले ‘आज साँझसम्म व्यस्त कार्यतालिका छ । साँझ गरौँ ’ भने ।
मैले म पर्सा जानुछ, २० मिनेट जति अन्तर्वार्ता गरेर जान्छु भने ।
खाजासँगै लियौँ हामीले । पारिवारिक विषय हल गर्न सुझाव पनि दिएँ उनलाई । उनले कोशिष गरेको छु’ भने ।

त्यसपछि प्रचण्ड चुनावी कार्यक्रमका लागि हिडेँ ।

म पनि रिपोर्टिङमा निस्केँ ।

एउटा कार्यक्रम सकिएपछि प्रकाशले खवर गरे, ‘अन्तर्वार्ता गरौँ, त्यहीँ बसेको होटलमा १२ बजे भेटौँ ।’

ठीक १२ बजे सहकर्मीसाथीसहित म प्रचण्ड बसेको चन्द्रनिगाहपुरको होटल पुगेँ ।

एकछिन पछि प्रचण्डसँग अन्तर्वार्ताका लागि कोठामा लिएर गए प्रकाशले ।

प्रचण्डसँग औपचारिक–अनौपचारिक दुवै कुरा हुन्थे । एकछिन अनौपचारिक कुरा गरेँ । प्रकाश पनिसँगै थिए ।

त्यसपछि औपचारिक अन्तर्वार्ता शुरु गरेँ । प्रकाश आफै बाहिर निस्के ।

अन्तर्वार्ता रातोपाटी अनलाइनको फेसवुक पेजबाट लाइभ थियो ।

यो अन्तर्वार्तामा प्रचण्डले काँग्रेससाग सहकार्य तोडिन सक्ने संकेत गरेका थिए । जसलाई पछि मैले समाचार टिप्पणी बनाएँ । अन्नत प्रचण्डले त्यहाँ गरेको संकेत बामगठबन्धनसम्म पुग्यो ।

प्रकाशसँग त्यहाँ भेट भएपछि भेट हुन पाएको थिएन । तर, देशमा ठूला राजनीतिक घटनाक्रम प्रचण्ड सधै केन्द्रमा रहन्थे । त्यसकारण प्रकाशसँग नियमितजसो सम्पर्कमा रहन्थे । यो फोन नउठे, यसमा गर्नुहोला भनेर विकल्पको नम्वर पनि दिन्थे ।

पछिल्लो १०–१२ बर्षमा उनीसँग धेरै पटक प्रत्यक्ष कुरा गरेँ । फोनमा कुरा गरेँ । किताव लेख्दा कहिलेकाही केही सूचनाहरु माग्थेँ, उनले सम्भव भएसम्म दिन्थे पनि ।

जनयुद्धमा ‘प्रेम, विवाह र यौन’ नामक किताव लेख्दा मैले प्रकाश र प्रभा बोगटीको प्रेमकथा समेटेँ । दूर्भाग्य, प्रकाश र प्रभाको विवाह लामो समय टिकेन । प्रभाका बुबा पोष्टबहादुर बोगटीको पनि हृदयघातकै कारण निधन भएको थियो ।

युद्धभित्र प्रेम । यो सामन्य घटना थिएनन् । प्रभा मेरो मिल्ने साथी । उनले त्यसबेलाको प्रेमकथा सुनाइन् । इतिहासका लागि खोज बनोस् भनेर, प्रभाकाजस्तै युद्धभित्रका प्रेमकथा, विवाहहरु, युद्धमा प्रेम र विवाहसम्बन्धी माओवादी नीति लगायतका विषयमा किताव लेखेको थिएँ ।

यसबाहेक प्रकाशका जीवनका पाटामाथि अन्तर्वार्ता पनि गरेको थिएँ । प्रकाशलाई नजिकबाट चिन्नेमा म पनि एक थिएँ । माओवादीभित्रको अन्तर्संघर्ष र प्रचण्ड बाबुरामको किताब लेख्दा पनि केहि  सूचना प्रकाशले नै पुष्टि गरिदिएका थिए ।

प्रभासँगको डिभोर्सपछि प्रकाशले दोस्रो विहे गरे । र, त्यसपछि तेस्रो ।

यही कमजोरी नै उनको जीवनका लागि सवैभन्दा ठूलो आलोचना बन्यो ।

यति हुँदाहुँदै पनि प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रकाशले निकै मिहिनेत गरे । प्रधानमन्त्रीका रुपमा बुबालाई सफल बनाउन उनले निकै मिहिनेत गरे ।

प्रचण्ड प्रधानमन्त्री भएकै बेला एक दिन प्रचण्डसँगै चार घण्टा बढी हेलिकप्टर यात्रा गरेको थिएँ । प्रचण्ड जनकपुरदेखि सिराह, सप्तरीसम्मका कार्यक्रममा भाग लिन गएका थिए । यहीँ कार्यक्रममा जानका लागि प्रकाशले आग्रह गरेका थिएँ । प्रधानमन्त्रीका रुपमा प्रचण्डको मूड बुझ्न सँगै जान तयार भएँ । त्यसदिन पनि प्रकाशसँग कुरा भए ।

मैले जति नजिकबाट म चिन्छु  यति भन्न सक्छु कि प्रकाश  बाबुका लागि एक्ला सहारा थिए ।  विपक्षको लगातार आक्रमण, पूर्वसहकर्मीहरुको घेराबन्दी र  लाभका लागि सहकार्य गर्नेहरुको धाकधम्की  प्रचण्डका अगाडि धेरै थिए ।  यस्तोमा प्रकाश यस्तो पात्र थिए जसले उनको बाबुको सुरक्षादेखि  अन्य राजनीतिक काममा समेत निशर्त सधाउँथे ।  आमा सीताको लागि त प्रकाश  एक युवराज नै थिए ।

यस्तो अवस्थामा लाजिम्पाटमा  प्रचण्ड र सीता दुबैका लागि यो भन्दा बज्रपात केहि हुने छैन । राष्ट्रिय राजनीतिलाई सधैं आफू अनुकुल राख्न सक्ने प्रचण्डलाई  पारिवारिक झमेला र तनावले भने कहिल्यै छाडेन ।  मलाई लाग्छ, आफ्नो राजनीतिक जीवनको यतिलामो कालखण्डमा प्रचण्डका  लागि अब एक असल सहयोगीको सधैं खाँचो रहनेछ  ।

प्रकाशको मृत्यु आकस्मिक थियो । मलाई आकस्मिक मृत्युसँग निकै डर लाग्छ । यो नीजि कुरा यहाँ नभने पनि हुन्थ्यो । तर, आज लेख्ने मन लग्यो ।

आकस्मिक मृत्युसँग डर लाग्नुको पछाडि एउटा घटना छ, जुन हाम्रो परिवारका सदस्यबाहेक बाहिर कमैलाई थाहा छ । १० बर्ष अगाडि हो, एक ठूलो मृत्यु जितेको थिएँ । गुल्मीमा बस दुर्घटना हुँदा २० जना भन्दा बढीको ज्यान गयो । भाग्य भनौँ वा के भनौँ, म संयोगले बाचेँ । सम्झन पनि नसक्ने घटना । सम्झदा वित्तिकै आँसु झर्छन् । यो विषय लेख्दा पनि यस्तै भयो ।

म दैनिक आठ–नौ घण्टा समाचार कक्षमा हुन्छु । जब ठूलो मानवीय क्षति भएका दुर्घटनाका समाचार आउँछन्, मलाई तनाव हुन्छ । आफू परेको घटनाको सम्झना आउँछ ।

मृत्यु सत्य छ । टार्न सकिन्न । तर, पनि मलाई दिनदिनै यस्ता आकस्मिक मृत्यसँग डर लाग्छ ।

चाहन्छु, यस्ता आकस्मिक मृत्युहरुको खवर सुन्न नपरोस् ।

अल बिदा प्रकाश !

श्राेत : राताे पाटी