नीति शाहले ठीक भनिन्–मेरी आमा अनपढ र पाखे नै हुन्

मलाई त कुनै पनि घरको काम गर्न आउँदैन।’ भनेर आफू आधुनिक भएको, सार्वजनिक गाडीमा ठूलो ठूलो स्वरमा अंग्रेजी भाषामा कुरा गरेर आफू शिक्षित भएको प्रमाणित गर्ने र लोक गीत सुन्नेलाई पाखे भनिने, हाम्रो र हामी पछिको पुस्तामा नीति शाहले ’मिस इन्टरनेशनल’ मा दिएको अभिव्यक्ति सामान्य हो । जसले नेपाल राम्ररी देखेकी नै छैनन् , बुझेकी नै छैनन्, जसको संसार शहर केन्द्रित छिन्,उनले सिंगो नेपालको परिचय कसरी दिउन् ?

काठमाडौंदेखि धेरै टाढाको गाउँमा हुर्किएकी म, मेरी आमाको कारणले नै यसरी बोल्न सक्ने बनेको छु । मेरी आमा, जो पाँच कक्षा मात्र पास हुनुहुन्छ, उहाँको विचार मेरो भन्दा कैयौं प्रगतिशील छ । चार छोराछोरीलाई एक्लै हुर्काउने जिम्मेवारी मेरी आमाले उठाउनुभयो । उहाँलाई अंग्रेजीका आधारभूत शब्द बाहेक केही थाहा छैन, तर उहाँ देशको राजनीतिमा चासो राख्नुहुन्छ ।

लेखक : कामना न्याैपाने

उहाँले आफूले महिनावारी हुँदा अनेक दुः ख सहनुभयो, तर हामीलाई महिनावारी बार्नु आवश्यक छैन भन्नुहुन्छ । मेरी आमा जसले जीवनभर साडी लगाएर बाँच्दै हुनुहुन्छ, तर छोरी–बुहारीलाई आफ्नो रोजाइको कपडा लगाउन स्वतन्त्र छोडिदिनुहुन्छ । आमाको सात वर्षको उमेरमा वि

वाह भएको थियो, तर उहाँले हामीलाई ‘तिमीहरुको जीवनसाथी तिमीहरु आफैले रोज्नुपर्छ र आफू करियरमा सक्षम भएपछि, आफ्नो चाहना अनुरुप विवाह गर्नुपर्छ’ भनेर उत्प्रेरणा दिनुहुन्छ । अब उहाँलाई अशिक्षित भन्ने आधार त्यही ‘स्कूलले शिक्षा नभएको’ हो त ? हामीले शिक्षित र अशिक्षितको अर्थलाई केवल किताबी ज्ञानको प्रमाणपत्रमा समेटिदिएका छौं ।

शहरका हामी मानिसहरु व्यक्तिगत सरसफाईलाई बढी समय दिन्छौं, हाम्रो श्रृंगारपटारमा बढी समय लगाउँछौं । तर, गाउँका महिलाहरु, खेतबारी, घाँस दाउरा, गोबर माटो, बच्चाको स्याहारसुसार आदिमा व्यस्त हुन्छन् । शहरी शिक्षित मानिसहरुले आफ्नो घरअगाडि फ्यात्त फोहोर फाल्दै गर्दा, उता गाउँका महिलाहरुले घरदेखि आँगन र बाटोसम्म रातो माटो र गोबरले लरक्क पोत्दै वरिपरि चिटिक्क पार्न कहिल्यै अल्छी मान्दैनन् । यी सबै काम सक्दा उनीहरुले आफ्नो श्रृंगारपटार त के, आफूले राम्रोसंग खाना खान पनि भ्याउँदैनन् ।

ग्रामिण महिलाहरु अशिक्षित र फोहोरी छैनन् । बरु उनीहरुले आफ्नो व्यक्तिगत विकासको लागि अवसर पाएका छैनन् । ती ग्रामिण महिला मध्ये जतिले अवसर पाएका छन्, उनीहरुले आफूलाई दह्रो प्रमाणित गरेका छन् । त्यसैले त देख्न सकिन्छ, घाँसको भारी गोठमा फालेर, ९ बजे स्कूलको लागि तयार हुने शिक्षिकाहरु, अहिले चुनावको माहोलमा हातमा झण्डा लिएर आफ्नो समर्थक पार्टीकोलागि भोट माग्दै हिंडेका महिलाहरु, आमा समूह मार्फत एकीकृत बनेर गाउँको विकासको लागि कदम चालिरहेका ग्रामिण आमाहरु । शहरमा मोटरबाइक हुइक्याउदा समेत पछाडि फर्केर हेरिने समयमा, गाउँको कच्ची बाटोमा मोटरबाइक हुइक्याइरहेका प्रगतिशील महिलाहरु ।

शहरमा अवसर हुँदा हुँदै खुम्चिन र बाँधिन बाध्य महिलाहरु जस्तै गाउँका महिलाहरुको पनि त्यही अवस्था छ । नीति शाहले भने जस्तै, उनीहरुलाई शिक्षाको अवसर दिन सके उनीहरुले आफ्नो क्षमतालाई बाहिर ल्याउन सक्छन्, आफूलाई अझ अगाडि बढाउन सक्छन् । अझ पिछडिएका गाउँ छन्, जहाँका महिलाले दर्दनाक अवस्था सहनुपरिरहेको छ ।

त्यसो त शहरकै महिलालाई पनि अवसरबाट बन्चित गरिएको छ । उदाहरण अहिलेकै निर्वाचनको उम्मेद्वारी काफी छ । तर, त्यसको लागि नीतिको जस्तो सोंच र नीतिले झन् असर गर्छ । नेपालको परिचय दिन पाउने, नेपाललाई संसारमा चिनाउन सकिने ठाउँमा उनले दिएको यो हलुका अभिव्यक्तिले महिलाहरुको कुटनीतिक क्षमतामा प्रश्न चिन्ह खडा गर्छ । सुन्दरतालाई नै महिलाको मूल्यांकनको आधार मान्ने प्रवृत्तिलाई बढावा दिन्छ । त्यो सुन्दरता, लवाइ र क्याटवकमा मात्र ध्यान दिनुको साटो नीति र नेपालका आयोजकले उनको बौद्धिक क्षमता अभिवृद्धिमा ध्यान दिएको भए ?

अन्त्यमा, नीतिको जवाफ उनको घमण्ड भन्दा पनि सतही विश्लेषण हो । सभ्य सहरमा ठूलो स्कूल (उनको भाषामा) पढेकी उनले किताबहरुमा नेपालको गरिबी तथ्याङ्क, ग्रामिण महिलाको दयनीय अवस्था, विभिन्न रोग आदिको बारेमा रटिन् । जसरी परीक्षामा उनले ती प्रश्नहरुको उत्तर लेख्थिन्,त्यसरी नै भाषण ठोकिन् । अब आउने पुस्ताको शिक्षामा पनि यही रट्नेवाला शिक्षा आयो भने, नीति भन्दा पनि उनीहरु धेरै शिक्षित बन्नेछन् र उनले भन्दा पनि धेरै भाषण ठोक्न सक्षम बन्नेछन् । त्यसैले, विद्यालयको शिक्षामा नेपालको परिचय साधारण तथ्याङ्क र किताबका पानाहरुमा मात्र सीमित गरिनु हुँदैन । उनीहरुलाई देशको इतिहास, सभ्यता, संस्कृति र गाउँले परिवेशको बारेमा गहिरो ज्ञान र अवलोकन तथा अनुभवको अवसर दिनु आवश्यक छ ।