काले दमाई

जरुर मालिक
दिइबक्सियोस् मेरो तागत जोख्ने तराजु
एकातिर हजुरको आदेश झुण्ड्याएर
अर्कातिर मेरा कलिला नानीको भविष्य बोकेर
म भाग्यको डरलाग्दो डिलैडिल दौडिन तयार छु

मालिक
भनिबक्सियोस् कति फुटाईदिउँ म पसिनाको बाँझो
कति जमाइदिउँ आँशुको पोखरी
अथवा कतापट्टि लेखिदिउँ
मेरो रगतले जिन्दावाद
मेरा नानीहरुको जोखिम भविष्य आजैबाट लखेट्न
म आगोमा हिउँ जमाउन तयार छु

विष्टका मझेरीमा
मेरा नानीहरुका पैताला मुस्कुराउन
उनीहरुले छोएको पानी अपवित्र हुनबाट जोगाउन
पँधेरोमा टोलभरीका गाग्रीसँग
मेरा औँलाहरुले निर्धक्क अंकमाल गर्न
मेरोजस्तै कालो छाला देखेर
भोलिको समाजको मन कालो बन्नबाट रोक्न
भनिबक्सियोस मालिक
बासी आडम्बरको लेउ पखाल्न
कति ददारौँ मेरा नङ्ग्राहरु ?

तिरस्कार भिरेर तृष्णा मेटाउन
म हजुरको घुर्यानमा पसिना रोपिरहन सक्दिन
नसुनेमा हजुरले मेरो बिन्ती
स्वतन्त्रताको धुन फैलाउन
मसँगै निस्कन तयार छन्
दमाहा र सहनाईहरु
पछि लाग्न तयार छन्
पटक पटक भेदभावमा किचिएकाहरु
त्यसबेला हाम्रा पाइला अगाडि
कहाँ कहाँ राख्नुहुन्छ मालिक
प्रवेश निषेधको बोर्ड ?

– कृष्ण कट्टेल