प्रिय प्रेम ! हार्दिक श्रद्धाञ्जली !!

एक कप झरी पिएं, आज फेरि बेमौसमी मौसमको वर्षादी क्याफेमा !
सिगरेटको चिम्नीबाट धुवाँ निकालिरहेछु !
खरानी कन्तुरमा जिन्दगीजस्तै लाग्ने एक खिल्ली चुरोट किचिमिची पारिदिए, भर्खरै !

*
पुरातात्त्विक मुटु बोकेर प्रागैतिहासिक हाम्रो टुहुरो प्रेम खोज्न, प्रिया आज म तिमी हिड्ने प्राचीन गल्लीतिर बरालिइरहेको छु !

स्मृतिको म्युजिक प्लेयरमा प्रिया तिम्रै प्यार भरी आवाज सुन्दै साइकलमा डुलिरहेछु !

अग्लो घर बनाएर तिम्रो शहरको मान्छेहरुले आकाश घटाइरहेछन् ! मलाई यो कुरा कहिल्यै मनपरेन !

तिम्रो गल्ली खुबै बिग्रेको रहेछ अहिले ! र भन्नैपर्दा प्रिया, तिमी पराइ भएपछी मेरो जिन्दगी पनि ठ्याक्कै यै सडक जस्तै भएको छ !
बनेजस्तै गरि बिग्रिरहनु अनि बिग्रेजस्तै गरि बनिरहनु १ बस् बासानादार विशेषता भएको छ, यो कुरुप जिन्दगीको !

*

बसे घन्टौ तिम्रो घर बाहिर ! बरालिरहे तिमी हिड्ने गल्लीहरुमा !
तिमी देखिइनौ कतै !

-श्रद्धाञ्जलीको अक्षरहरुलाई हार्दिक समवेदना सुनाइदिएर फर्किए-प्रिया हाम्रो प्रेमको नाउँमा !!
*

कालो मफलर ओढेर आएको गोधुली साझले भर्खर हाइ गर्यो मलाई, टेकु चोक मै !

कुहिरोले बाक्लो कम्बल ओढाइदिएको छ शहरलाइ ! जाडो खुबै छ ! साइकलमा बत्तिदा स्याँठले गालामा लगातार थप्पड हानिरहेछ !

*
कालिमाटी !
पानी बाक्लो गरि पर्न थालेको छ !

नजिकैको चिया चमेना छिर्छु ! चुरोट तान्दै, परिरहेको पानी हेर्दैछु ! बिम्बलोक तिर पुग्छ, मेरो मगज ! अनि एक थान कविता सोच्न थाल्छ !

दाइ लाइटर, कसैले भनेपछि झस्किए ! हातको चुरोट एक सर्को मात्रै तानेरै सकिएछ ! चियाको कपमा झिँगाले सुसाइड नोट डुबाइसकेछ !
बिल तिरेर उठे !

*
Dear readers !
हजुरहरुलाई थाहा छदै छ !
मलाई भिज्न मनपर्छ !

कालिमाटीको सो चिया चमेनाबाट झल्लुदरबार तिर दौडिए !

बल्खुमा जाम रहेछ ! साइकलको ब्रेक कमजोर भएको मलाई ख्याल नै भएन, प्रिया तिम्रो हृदयको चिहानघारी तिर दौडिरहदा ।

प्रिय पराइ मान्छे !
यो हृदय त्यै प्रेमिल चिहानघारी हो !
जहाँ कुनै समय तिमिले आत्महत्या गरेकी थियौं ।

*

ब्रेक नलागेर ट्याक्सीमा ठोक्किए!

प्रिय मृत्यु !
तँ अभागी रैछस् यार ! आज नि भेट हुन सकेन, तेरो र मेरो !

-चियर्स मुला, अब आउदा मलाई भेट्ने गरि नै आउनु !

*

म यत्तिखेर यस्तो ठाउँमा छु ! जहाँबाट घर (झल्लुदरबार) भन्दा घाट(सानेपा घाट) नजिक पर्छ !

घाटमा मृत्यु के भेट्टाइला र ? झरी पर्या छ यस्तो ! रेनकोट घिसार्दै कता डुलिराँ होला, मुलाङ मृत्यु !
ह्या, जान्न !
म गैइन, घाट आज !

*
जाम खुलेको छैन ! म नजिकै स्कुटरमा राम्री तरुनी छे ! उसको भिजेको ओठ, बडो काव्यिक लाग्यो मलाई !
उसको छाती, उस्तै कलात्मक !

मुलाङ झरी ! प्रजातान्त्रिक शहरमा राजतान्त्रिक तवरले बर्सिरहेछ ! हरकोहि माथी मनपरि झरीरहेछ !

एक टुक्रा साँझ कालो वैन्ड प्रुफ जकेट लगाएर आइपुग्यो !
मान्छेहरु, काला, खैरा, निला, रेनकोट लमतन्न घिसार्दै हिडिरहेछन् !

*

देखे ! विष्णुमति खैरो भएछ !
ओहो यो के ?
एक अर्कालाई अगाँलो मारेर विष्णुमतिको दुई बगर, धमिलो पानीमा आ-आफ्नो अनुहार पो नियाल्दै छन् त !

रमाइलो दृश्य ! हेरे ! हासे !
अनि कुमारी क्लब तिर बत्तिएँ !

*

बुढाथोकी नर्सरी नेर सानो पाली रहेछ, आशिर्वाद मुद्रामा खडा भएको ! टाउको छिराए, र आशिष लिगे !

ओत लाग्ने मन थिएन ! तर झोलामा डायारी थियो, प्रिया तिम्रै नामको कविताले भरिएको !भिजाउन सकिन !

नजिकै फ्याकिँएको प्लास्टिक थियो, तेस्मा बेरे डायरीलाई ! हाम्रो प्रेमलाई ! मेरो प्रेमलाई !
अनि आफु भिज्दै उक्लिए मास्तिर !

*

बाँस बस्न, नभिजेको हाँगा खोजिरहेको कोइली !
च्यातिएररभिजेर, एक पाखो मुख देखाएर हासिरहेको बिजुली पोलको पणिनिती चोपडा !
झरिरहेकका शिरीषको निलो फुलहरु !
लडेको एउटा बूढो रुख अनि तेस्कै मुनि किचिएको गुलाबको पिपिरो !

हाय ! यो शहरमा प्रेम त उहिल्यै मारिएको पो हो त !

मै मूर्ख, प्रेम खोज्दै हिडिरहेथे !

*
Dear reader !
चियर्स ! आज लाइटर बोकेको छु !
हजुरहरुसँग आगो माग्दिन !

टि.यु.कार्डिनेसन गार्डेन भित्रको मन्दिरमा ओत लागे !

झोला खोले !
प्लास्टिकबाट डायारी निकाले !
चुरोट सल्काए !
एक चिम्नी धुवा ओकले !

अनि जोतिदे, त्यो खिल्ली त्यै डायारीमा !
ह्वार्‍ बल्यो, मेरो प्रेम !
खरानी भयौ- प्रिया तिमी !

हाहा, प्रिया ! आज मैले मेरो प्रेम मारिदिए !