‘जुनकिरी’ सँग ‘रिसाएको छ झरी‘

आज रिसाएको झरी बर्सिएछ..
मेरो आगनिमा
झसक्क झस्किएर चिम्म निधाएका
आँखा बिउँझे..
हातहरु जोडिएर चल्नी दुख्ने गरि
कान चेप्टिने गरि
अझ भनौं औंलाको छाप बस्ने गरि
भएछ..
म निधाएको थिएं,
आङ जर्किरहेको थियो…
पाखुराभरी पातला रौंहरु ठाडो भएछन्
आक्रोसित झरिले मलाई पिट्न नसकेर
मेरो झुपडीको पातलो टिनको छानो
हिर्काइरहेथ्यो!
अनि अर्धनिन्द्रा मा देख्दै गरेको सपना
खोसेर बगाइदिए खोल्सो मा सलल….
घरमा अशान्ती देख्दैथियो उसले
बाबुको जिम्मेवारी पूरा गर्न सक्छु भन्दै
झड्केलो छोराले बाउ कुटेको हेर्दैथियो
बाउ चुप बसेर उसको चर्तिकला
मुल्यांकन गर्दथियो अनि ती छोरा आफ्नो स्वास्नी र
परिवार लाई मात्रै पाल्दै पेट बढाउदै
आङ तन्काउदैथिए….
अनि घरमा सधैं कोलाहल जन्माइरहेथ्यो
दाजुभाइलाई छिमेकि घरमा बोनिपुतो गर्न पठाएथ्यो
उनिहरु पनि चुपचाप-चुपचाप
उस्तै गर्दै थिए…….
सायद प्रत्येक क्षण झरिले हेर्दैथियो
अन्याय भयो भन्दथियो…
इमानदारी दाजुभाई लाई त्यसो गर्नुहुन्नथ्यो
र त्यो दाजुभाई पनि उसको गुलाम नगर्नु पर्थ्यो……
यस्तै भन्दैथ्यो झरी…..निरन्तर-निरन्तर भन्दै थियो
भन्दै गयो……..
मेरो झुपडीको छानोमा एकतमासले
लाठि बजार्दै, बलेसिको माटोमा खन्ती हानी-हानी
सम्झाउदै थियो मलाई………
दुलो परेको टिन बाट झरेर मलाई छोयो
अनि रुन खोज्दै बोल्यो…….
यो के भयो तिमिलाई
कसले गर्‍यो एस्तो तिमिलाई
तिम्रो घरबारी सबै सबै लगिसकेछ
तिम्रो बिछ्यौना, तिम्रो देउराली सबै
मासिएछ……
यो सबै गर्ने तिम्रै घरको झड्केलो दाइ हुन्
तिमिहरुको परिवार मास्न भनी उसको आगमन
भएको हो.. आदि इत्यादी..
मानौं, ज्योतिष ले मेरो मुहार हेरि
जोखाना फुक्दैछ
मानौं, मेरो झुपडी र देशको उ भबिस्यबाणी गर्दैछ१
अझै थप्यो कानमै आएर..
तिम्रो ती झड्केलो दाजुले
आधा जग्गा अर्कैलाई बेचिसकेको छ अझै
परदेशमा पठाएका तिम्रो कुलको दाजु
कहिले फर्की नआउन् भनी हिजो आज सानो
कुण्डलिमा मलाई भरेर शिवलिङ्ग ढोग्दैथियो१
छिमेकमा बोनिबुतो गर्न गएकाहरु
उतै भतुवा बनोस् भनी संका फुक्दैथियो
अनि उसलेभन्दैथियो,
यो जमिन यी घर मेरो नाममा हुनुपर्छ
आकाश पातल दुबै मेरो मुठिमा बाँधिनुपर्छ…
बाउको यी लालपुर्जा र हरेक प्रमाण
मेरो नाम गरेको भनी हस्ताक्षर गरेको हुनुपर्छ..
अनि मात्र ढुक्क भइ रहन सकुंला
त्यसको लागि पुर्ब तयारी गर्नुपर्छ..
म बगिरहनलाई आजकल यो जमिन पनि
आफ्नो लाग्दैन,बेचिएको छु!
बादल बनी आकाशमा रमाउन मै उचित ठान्छु
वर्षा बनी ओरालिदा सुन्छु यहि अनेक कुरा
आमामाथी भएको षड्यन्त्र सक्दिन देख्न..
आजकल प्रकृतिलाई पनि लुछ्न खोज्ने तिम्रो
ती दाजुलाई कुनैदिन प्रकृतिले नै नष्ट गर्नेछिन्….
आक्रोश ले झपारेर बिलायो झरी…….
उसको आँसु होला सायद
खस्दैथिए तप-तप जस्केलोनेरी
घरी-घरि तर्साए झैं गरि आउँछ उ अनि
पहिला जस्तो बातै नमारी खुसुक्क जान्छ
आएं भनी ढोकाको पर्दा हल्लाउदैन
गएं भनी पुलुक्क म तिर हेरेर बाई भन्दैन
सायद म संग रुष्ट छ उ
मेरो इमानदारिता र म माथी भएको अन्यायले
उसलाई पिरोलेको छ
मेरो बाउको मसिनो आँखाबाट
झरेको बलिद्र आँसुदेखि उ सन्तोष छैन
झड्केलो दाजुले मेरो दाजुभाई माथी गरेको
प्रत्येक ती अमिलो कुराले
आजकल झरी म संग रिसाएको छ…
बरफ र असिना बनेर अझै हान्न छोडेको छैन उसले
साच्चै झरी म संग अनि ती दाजुहरु संग
बेस्मारी रिसाएको छ !!

लक्ष्मीकला राई