हो छोरी ! अब जन्मिनुपर्छ तिमी’

छोरी !
मलाई सुन्दैछौ तिमीले ?
नहतारिनु तिमी अहिल्यै
तिम्रो आगमनमा उघारिनेछ
क्षितिजको पर्दा
डग्मगाउँनेछन् पहाडका छाती
र खुल्नेछन् हिमालका सौन्दर्य

बलात्कार गर्नेछन् तिमीलाई
तिम्रो चित्कारको बेवास्ता गरी
छियाछिया पार्नेछन् तिम्रो यौनांग
लुछ्नेछन् तिमीलाई गिद्धहरुले लुछेसरी
हुनेछन् तृप्त तिम्रो रगतका धाराहरुमा
ठान्नेछन् आफूलाई महापुरुष
तोडेर तिम्रो कुमारीत्व
र हिड्नेछन् घन्काउँदै सडकमा
मूर्दाबादका नाराहरु
निचोरेर तिम्रा जीवनदायी स्तन
के तिमी सहन सक्छौ ?

पिडाका यी भारीहरु बोक्न
जन्माउन चाहन्न तिमीलाई
धैर्य गरी सुन छोरी !

जन्मिनुपर्छ तिमीले छोरी
च्यात्न समयको मैलो पर्दा
उखेल्न अत्याचारका जरा
जलाउन यौन पिपासुका मस्तिष्क
तर तोड्नुपर्ने छ तिमीले भद्दा इतिहासलाई
लज्जा होइन भरेर नयनमा तुफान
लिएर यौनीमा धारिलो छुरा
गाभेर स्तनमा ज्वालामुखी
बोकेर ओठमा सुनामी
बगाएर छातीमा साहसी रगत
हो छोरी !अब जन्मिनुपर्छ तिमी
यो निर्लज्ज युग बदल्न ।

जयन्ती मगर सरगम